२०८१ कार्तिक २१ गते १५:४६ विकासन्युज
काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पकाे जित निश्चितजस्तै छ । आधिकारिक रूपमा घोषणा हुन भने बाँकी नै छ । ट्रम्पको आगमनलाई ध्यानमा राख्दै क्रिप्टोकरेन्सी पनि बढ्दै गएको छ । आज बिटक्वाेइनलगायत धेरै मुद्राको मूल्य बढेको छ । बिटक्वाेइनले अहिलेसम्मकै उच्च मूल्यमा पुग्दा डजकोइन २० प्रतिशतभन्दा बढी वृद्धि भएकाे छ ।
बिटक्वाेइनको मूल्य ७५ हजार डलर नाघेको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो । यसैगरी डजकोइन २०% भन्दा बढी बढेर ०.२० डलर पुगेकाे छ ।
ट्रम्पसँग के सम्बन्ध छ ?
अमेरिकामा यो चुनावी सिजन क्रिप्टोकरेन्सीमा केन्द्रित छ । दुबै पार्टीका उम्मेदवारहरूले क्रिप्टो क्षेत्रको विकासलाई समर्थन गरिरहेका छन् ।
यद्यपि, डेमोक्र्याटिक्सकी उम्मेदवार कमला ह्यारिसभन्दा ट्रम्पलाई क्रिप्टोकरेन्सीको बढी सहयोगी मानिन्छ । ट्रम्पले आफ्नो चुनावी प्रतिज्ञाहरूमा प्रो-क्रिप्टो एजेन्डाको वाचा गरेका थिए । यसमा राष्ट्रिय बिटकोइन रिजर्भ सिर्जना गर्ने, यूएस सेक्युरिटीज एन्ड एक्सचेन्ज कमिसन (एसईसी) का अध्यक्ष ग्यारी जेन्सलरलाई बर्खास्त गर्ने र बिटक्वाइन लेनदेनमा करहरू हटाउने समावेश छन् । यही कारण क्रिप्टोकरेन्सीको मूल्य बढ्न थालेको कारण हुनसक्छ ।
डजकोइन किन बढ्यो ?
डजकोइन अर्बपति एलन मस्कको मनपर्ने क्रिप्टोकरेन्सी पनि हाे । विगतमा पनि उनले समय समयमा डजकोइनमा आफ्नो रुचि देखाउँदै आएका छन् । कुनै समय उनले यो मुद्रामा धेरै लगानी पनि गरेका थिए जसकारण यसको मूल्यले आकाश छुन थालेको थियो । उनले ट्रम्पलाई खुलमखुला समर्थन गर्दै आइरहेका थिए ।
ट्रम्पको सरकार बनेमा मस्कको यो मनपर्ने मुद्राको मूल्यले आकाश छुने विश्वास गरिएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.