२०८१ कार्तिक २१ गते १५:४७ विकासन्युज
काठमाडौं । पसलको नाम ईन्द्र ज्वेलर्स सुनचाँदी । सुन व्यवसायीको नाम सोहिल शाक्य । ठेगाना सिपाडोल, भक्तपुर । दर्ता व्यवसाय सुनचाँदीको कारोबार । धन्दा नक्कली नोट उत्पादन ।
सुन्दा अपत्यारलाग्दो काण्डका नाइके सोहिल शाक्यलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीईबी) ले कात्तिक २० गते पक्राउ गरेको छ ।
काठमाडौं उपत्यकका विभिन्न स्थानमा नेपाल राष्ट्र बैंकबाट जारी गरेको नेपाली एक हजार र पाँच सय दरका नोट जस्तो देखिने चाँदीको नक्कली नोटहरू (खोटा मुद्रा) निर्माण गरी कारोबारसमेत भइरहेको भन्ने विशेष सूचना नेपाल प्रहरीले पायो ।
त्यसपछि प्रहरीले सूचनाको जाँच र अनुसन्धानलाई अगाडि बढायो । यही क्रममा सीआईबीबाट खटिएको प्रहरी टोलीले भक्तपुर जिल्ला सूर्यविनायक न.पा. वडा नं.८ सिपाडोलस्थित सोहिल शाक्यले सञ्चालन गरेको ईन्द्र ज्वेलर्स सुनचाँदी पसलमा छापा मार्याे ।
त्यस क्रममा नेपाल राष्ट्र बैंकबाट जारी गर्दा उल्लेख हुने विवरणसमेत भएको र राष्ट्र बैंकले निकालेको हो भन्ने भान पार्ने वा विश्वास हुने गरी अनधिकृतरूपमा नेपाली नोट एक हजार पाँच सय दरका सेतो प्लास्टिकले लेमिनेसन गरेको चाँदीको जस्तो देखिने नक्कली नोटहरू फेला पर्याे ।
सीआईबीका प्रहरी उपरीक्षक तथा प्रवक्ता होविन्द्र बोगटीका अनुसार खानतलासीको क्रममा उक्त पसलमा एक हजार रुपैयाँ दरका ११३ थान नक्कली नोट भेटिएका छन् । त्यसमा श्री ९९९९ उल्लेख गरिएका एक हजार दरका ४८ थान नक्कली नेपाली नोट भेटिएकाे उनले जानकारी दिए । त्यस्तै, एसडी ०००००० उल्लेख भएका ४० थान, ट५६, ८२१३८३ उल्लेख भएको एक हजार दरका २५ थान नक्कली नोट प्रहरीले बरामद गरेको छ ।
उक्त पसलबाट श्री ९९९९ उल्लेख भएको पाँच सय दरको २८ थान नोट नक्कली नोट भेटिएको सीआईबीले जनाएको छ । प्रहरीले ३० वर्षीय सुन व्यवसायी शाक्यलाई हिरासतमा लिएर थप अनुसन्धान सुरु गरेकाे छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.