२०८१ कार्तिक २२ गते १३:४९ विकासन्युज
काठमाडौं । डोनाल्ड ट्रम्प फेरि एकपटक अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका छन् । उनी अमेरिकाको ४७ औं राष्ट्रपति बनेका हुन् । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले खुलेर ट्रम्पको समर्थन गरेका थिए । चुनावी प्रचारप्रसारका क्रममा उनले ट्रम्प क्याम्पलाई ११९ मिलियन डलर पनि सहयाेग गरेका थिए ।
बुधबार अमेरिकी राष्ट्रपतीय निर्वाचनको नतिजा आउनेबित्तिकै मस्कको कम्पनी टेस्लाको सेयर १४.७५ प्रतिशतले बढेको थियो । यसले मस्कको कुल सम्पत्ति २६.५ बिलियन डलरले बढ्यो । अर्थात् मस्कले एकै दिनमा आफ्नो लगानीको २२ हजार ५४४ प्रतिशत प्रतिफल पाएका छन् ।
ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार मस्कको कुल सम्पत्ति अहिले २९० अर्ब डलर पुगेको छ । यो वर्ष उनको कुल सम्पत्ति ६१.३ बिलियन डलरले बढेको छ ।
मस्कसँग टेस्लाको ४११ मिलियन सेयर छ । बुधबार कम्पनीको सेयर १४.७५ प्रतिशतले वृद्धि भएकाे थियाे । योसँगै सेयर मूल्य दुई वर्षयताकै उच्च बिन्दुमा पुगेको छ । टेस्ला ९२६.१९ बिलियन डलरको मार्केट क्यापका साथ विश्वको १० औं सबैभन्दा मूल्यवान कम्पनी हो ।
मस्कले ट्रम्पको र्यालीमा जसरी प्रचार गरे त्यसले उनलाई सरकारमा पनि स्थान दिन सक्ने अनुमान गरिएको छ । उनलाई अर्थमन्त्री बनाइने अनुमान पनि छ । एक र्यालीमा उनले अमेरिकी बजेटमा दुई ट्रिलियन डलर बचत गर्न सक्ने बताएका थिए ।
शीर्ष १० मा को-को ?
अमेजनका संस्थापक जेफ बेजोसको नेटवर्थ पनि बुधबार ७.१४ बिलियन डलरले बढेको छ । उनी २२८ बिलियन डलरको कुल सम्पत्तिका साथ विश्वका धनी व्यक्तिको सूचीमा दोस्रो स्थानमा छन् । फेसबुकका सीईओ मार्क जुकरबर्ग (२०२ बिलियन डलर) तेस्रो स्थानमा, ल्यारी एलिसन (१९३ बिलियन डलर) चौथो स्थानमा र बर्नार्ड अर्नाल्ट (१७३ बिलियन डलर) पाँचौं स्थानमा छन् ।
यस सूचीमा माइक्रोसफ्टका संस्थापक बिल गेट्स (१५९ बिलियन डलर) छैटौं, ल्यारी पेज (१५८ बिलियन डलर) सातौं, सर्गे ब्रिन (१४९ बिलियन डलर) आठौं, वारेन बफेट (१४८ बिलियन डलर) नवौं र स्टिभ बाल्मर (१४६ बिलियन डलर) दशौं स्थानमा छन्
अम्बानी-अदानीको अवस्था
मुकेश अम्बानी र गौतम अडानीको नेटवर्थ पनि बुधबार बढेको छ । रिलायन्सका अध्यक्षको कुल सम्पत्ति १.३० बिलियन डलरले बढेसँगै उनी फेरि १०० बिलियन डलरको क्लबमा सामेल भए । अडानी समूहका अध्यक्षको कुल सम्पत्ति ३ अर्ब ६२ करोड डलरले बढेर ९७.२ अर्ब डलर पुगेको छ ।
विश्वका धनी व्यक्तिको सूचीमा अम्बानी १७औं र अडानी १८औं स्थानमा छन् । अहिले दुवैको नेटवर्थमा तीन अर्ब डलरभन्दा कमको अन्तर छ । यस वर्ष अम्बानीको कुल सम्पत्ति ४.०१ बिलियन डलरले बढेको छ भने अडानीले १२.९ बिलियन डलर कमाएका छन् । एसियाली धनीहरूको सूचीमा अम्बानी पहिलो र अदानी दोस्रो स्थानमा छन् । (एजेन्सीको सहयाेगमा)
Copyright © 2025 Bikash Media Pvt. Ltd.