सञ्चालन भएको दुई वर्षमा दुइटा मात्रै अन्तर्राष्ट्रिय उडान, पोखरा विमानस्थललाई बिजनेस पाउन सकस

  २०८१ कार्तिक २२ गते १८:०६     विकासन्युज

काठमाडौं । विमानस्थल सञ्चालनमा आएको करिब दुई वर्षको अवधिमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुइटामात्रै अन्तर्राष्ट्रिय उडान भएको छ । बिहीबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दोस्रो पटक अन्तर्राष्ट्रिय उडान भएको हो ।

चीनको सिचुवान एयरलाइन्सले गत वर्षको असारमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडान गरेको थियो । त्यसको करिब दुई वर्ष अर्थात् १७ महिनापछि बिहीबार सिचुवानले नै पोखरामा दोस्रो अन्तर्राष्ट्रिय उडान गरेको हो ।

आज चीनको कुनमिङ विमानस्थलबाट १२० यात्रु लिएर आएको सिचुवान एयरलाइन्सको एयर बस ३१९ चार्टर्ड विमान पोखरामा दिउँसो २ः४० मा अवतरण भएको थियो ।

तेस्रो पोखरा अन्तर्राष्ट्रिय पर्वतीय क्रसकन्ट्री दौड प्रतियोगिताका लागि चिनियाँ खेलाडी, दर्शक र अन्य प्रतिनिधिहरू नेपाल आएका हुन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल १ जनवरी २०२३ बाट सञ्चालनमा आएको थियो । त्यसयता आन्तरिक उडान निरन्तर भइरहेपनि अन्तर्राष्ट्रिय उडान भने यो बल्ल दोस्रो पटक मात्रै हो । यसबीचमा अन्य कुनै पनि एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गरेका छैनन् ।

सरकारले पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनलाई सहजीकरण गर्न अन्तर्राष्ट्रिय हवाई कम्पनीलाई आग्रह गरिरहेको छ । सरकारले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई हवाई इन्धनको मूल्यमा छुट दिने निर्णय पनि गरिसकेको छ ।

सरकारले हवाई टिकटमा मूल्य अभिवृद्धि कर (भ्याट) छुट, ग्राउन्ड ह्यान्डलिङ, पर्यटन बोर्डले प्रतिटिकट लिने शुल्क पनि उक्त अवधिभर छुट दिने निर्णय गरिसकेको छ ।

झन्डै २२ अर्ब रुपैयाँ ऋणमा बनेको यो विमानस्थल सञ्चालन भएको दुई वर्षमा पनि अन्तर्राष्ट्रिय उडान नहुँदा विमानस्थलले लगानी उठाउन पनि सकस भएको छ भने ऋणको साँवा ब्याज भुक्तानीमा पनि समस्या हुने देखिन्छ ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले सन् २०२२ जनवरी १ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका थिए ।

पोखराबाट भारतका विभिन्न सहरमा उडान गर्न भारतबाट अझै अनुमति नपाइएकाे अधिकारीहरू बताउँछन् । नेपालले हालसम्म ४१ वटा देशसँग हवाई सम्झौता गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.