२०८१ कार्तिक २३ गते १८:१५ विकासन्युज
काठमाडौं । नेपाल मेडिकल कलेजको प्रिन्सिपलमा प्राध्यापक डाक्टर मोदनाथ मरहठ्ठा नियुक्त भएका छन् । काठमाडौं विश्वविद्यालयले प्राडा मरहठ्ठालाई आगामी तीन वर्षका लागि प्रिन्सिपलमा नियुक्त गरेको हो ।
विगत तीन वर्षदेखि कलेजको अस्पताल निर्देशकको भूमिकामा रहेका डा. मरहठ्ठालाई शुक्रबार कलेजका अध्यक्ष प्राडा जैनुद्धिन अन्सारीले प्रिन्सिपल पदमा पदस्थापन गराए ।
कलेजमा आयोजित कार्यक्रममा अध्यक्ष प्राडा अन्सारीले नवनियुक्त प्रिन्सिपललाई सफल कार्यकालको शुभकामना दिँदै नेपाल मेडिकल कलेजको शिक्षा, स्वास्थ्य र अनुसन्धानका क्षेत्रमा डा मरहठ्ठाले महत्त्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे ।
कलेजका अस्पताल निर्देशकका रूपमा रहेर काम गर्दा हासिल गरेको अनुभव र सिकाइलाई प्रिन्सिपलको भूमिकामा काम गर्दा उपयोग गर्दै अधिकतम कलेजको हित र श्रीवृद्धिका लागि आफू लागिपर्ने उनको प्रतिबद्धता छ ।
त्रिवि शिक्षण अस्पतालको एनेस्थेसिया विभागको प्रमुख भएर काम गरिसकेका डा मरहठ्ठासँग कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको डीनसमेत भएर काम गरेको अनुभव छ ।
कलेज व्यवस्थापनले प्रिन्सिपल पदका लागि तीनजनाको नाम विश्वविद्यालयलाई सिफारिस गरेकोमा विश्वविद्यालयले प्राडा मरहठ्ठालाई प्रिन्सिपल नियुक्त गरेको हो ।
काठमाडौं विश्वविद्यालयअन्तर्गतका कलेजहरूमा विश्वविद्यालयले नै प्रिन्सिपल नियुक्त गर्ने प्रावधान छ ।
यसअघि प्राडा प्रमोदकुमार क्षेत्रीले ६ वर्ष कलेजको प्रिन्सिपलको भूमिकामा थिए । पारिवारिक कारणले उनले राजिनामा दिएपछि नयाँ प्रिन्सिपल नियुक्त गरिएको हो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.