झापा इनर्जीले बेच्यो ७.११ करोडको बिजुली, ८ सय सर्वसाधारणको ५० लाखसम्म लगानी

  २०८१ कार्तिक २४ गते १३:११     विकासन्युज

काठमाडौं । सौर्य ऊर्जा उत्पादन गर्दै आएको झापा इनर्जी लिमिटेडले ९ महिनामा ७ करोड ११ लाख ३८ हजार ७१० रुपैयाँ मूल्य बराबरको विद्युत् उत्पादन गरेर नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गरेको छ ।

शिवसताक्षी नगरपालिका-४ बुलुचोकमा उक्त कम्पनीको सौर्य विद्युत् परियोजना सञ्चालनमा रहेको छ । गत वर्षको माघ २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त परियोजनाको उद्घाटन गरेका थिए ।

कम्पनीका प्रबन्ध सञ्चालक सुभाष भट्टराईले गत वर्षको माघ १० गतेदेखि विद्युत् उत्पादन सुरु गरेको बताए । गत माघ १० गतेदेखि यस वर्षको कात्तिक २० गतेसम्मको अवधिमा परियोजनाले १ करोड १९ लाख ७ हजार ७८१ युनिट विद्युत् उत्पादन गरेको उनले जानकारी दिए ।

परियोजनाबाट उत्पादित विद्युत् नजिकै रहेको नेपाल विद्युत् प्राधिकरणको बुलुचोक सबस्टेसनमार्फत राष्ट्रिय ग्रिडमा जोडिने गरेको छ । परियोजनाको १० मेगावाट विद्युत् उत्पादन क्षमता रहेको छ । हिउँदभन्दा वर्खे अवधिमा चर्को घाम लाग्ने भएकाले सौर्य विद्युत् बढी मात्रामा उत्पादन हुने गरेको छ ।

‘हिउँदमा अधिकतम् दैनिक ५९ हजार युनिटसम्म उत्पादन भएको छ । तर, वर्खाको चर्को घाम लागेका बेला दैनिक एक लाखभन्दा बढी युनिट विद्युत् उत्पादन हुने गर्दछ,’ कम्पनीका प्रबन्ध सञ्चालक भट्टराईले भने ।

प्राधिकरणले विद्युत् खरिद सम्झौता बमोजिम कम्पनीबाट उत्पादित विद्युत्प्रति युनिट ७.३० रुपैयाँका दरले खरिद गर्दै आएको छ । शिवसताक्षी-४ बुलुचोकमा कम्पनीले खरिद गरेको २२ बिघा जग्गामा परियोजना रहेको छ । त्यहाँ सूर्यको प्रकाशबाट आउने किरणलाई संश्लेषण गर्नका लागि ठूलो क्षेत्रफलमा सौर्य प्यानल राखिएका छन् ।

प्रबन्ध सञ्चालक भट्टराईका अनुसार परियोजनामा ८७ करोड रुपैयाँ लगानी भएको छ । त्यसमा माछापुच्छ्रे बैंक र हिमालयन बैंकले ६२ करोड रुपैयाँ ऋण लगानी गरेका छन् । जनस्तरबाट पूँजी सङ्कलन गरी स्थापना गरिएको झापा इनर्जी लिमिटेडमा विद्युत् उत्पादन गर्ने एकमात्र परियोजना हो । यसमा ८ सय सर्वसाधारणको ५० हजार रुपैयाँदेखि ५० लाख रुपैयाँसम्म सेयर लगानी रहेको छ ।

परियोजनामा दुई इञ्जिनियरसहित १२ जनाले स्थायी रोजगारी प्राप्त गरेका छन् । विद्युत् उत्पादन प्रणाली स्वचालित भए पनि परियोजनास्थलको रेखदेख र आवश्यक मर्मत सम्भारका लागि कर्मचारी दिनरात खटिने गरेको भट्टराईले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.