२०८१ कार्तिक २५ गते १०:३० विकासन्युज
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई प्रहरीले आज पुनः अदालत पेस गर्ने भएको छ । जिल्ला अदालतले रविमाथि अनुसन्धान गर्न दिएको १० दिनको म्याद सकिएसँगै उनलाई प्रहरीले आज पुनः अदालतमा उपस्थित गराउन लागेको हो ।
सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई ९० दिन हिरासतमा राखेर अनुसन्धान गर्ने योजना प्रहरीको छ । तर, त्यसका लागि प्रहरीलाई अदालतको अनुमति चाहिन्छ । अदालतले अनुमति दिएमा प्रहरीले अभियुक्तलाई ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ । प्रहरीले सोही सुविधा प्रयोग गर्ने योजना बनाएको छ ।
यसअघि अदालतले रविमाथि अनुसन्धान गर्न कात्तिक २० गते १० दिनको म्याद थपको अनुमति दिएको थियो । कात्तिक १५ गतेदेखि गणना हुने गरी अदालतले अनुमति दिएको म्याद आज सकिएको हो ।
सूर्यदर्शन सहकारी ठगीमा प्रकाउ परेका गोर्खा मिडियाका पूर्वप्रबन्ध निर्देशक समेत रहेका लामिछाने र छवि जोशीसहितलाई आज अदालत पेस गरिने भएको हो ।
पोखराको सूर्यदर्शन सहकारीको ६५ करोड रुपैयाँ गोर्खा मिडियामार्फत अपचलन गरेको अभियोगमा उनलाई सहकारी ठगी तथा संगठित अपराधको मुद्दा लगाइएको छ । सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिइसकेको छ ।
लामिछाने कात्तिक २ गते काठमाडौंस्थित पार्टीको केन्द्रीय कार्यालयबाट पक्राउ परेका थिए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.