स्तरोन्नतिमा १५ अर्ब खर्च र ५ महिना समय लाग्ने त्रिभुवन विमानस्थल कस्तो बन्दैछ ?

  २०८१ कार्तिक २५ गते १३:४६     विकासन्युज

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शुक्रबारदेखि पाँच महिना दैनिक १० घण्टा बन्द हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको स्तरोन्नतिका लागि शुक्रबाबाट दैनिक १० घण्टा उडान बन्द गरेर बिस्तारको काम थालनी गरेको हो ।

प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण-पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’ गरी तीन प्याकेजमा विमानस्थलको स्तरोन्नतिको काम थालनी गरेको हो । प्राधिकरणले एशियाली विकास बैंकको ऋण सहयोगमा १५ अर्ब खर्च हुनेगरी काम थालनी गरेको छ ।

स्तरोन्नतिका क्रममा राति १० बजेदेखि बिहान ८ बजेसम्मका सबै उडान बन्द हुनेछन् । प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजना प्रमुख दीपेन्द्र श्रेष्ठले प्राधिकरणले विमानस्थल स्तरोन्नति गुरुयोजना अनुरुप विमानस्थलको दक्षिण-पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’ गरी तीन प्याकेजमा काम थलनी गरेको बताए ।

विमानस्थल स्तरोन्नतिले विमास्थलको क्षमता अभिवृद्धि अर्थात रन वे र ट्याक्सी वेको क्षमता वृद्धि हुने बताए । एअर ट्राफिक कन्ट्रोलरहरुलाई एअर ट्राफिक व्यवस्थापन गर्न धेरै सजिलो हुने हुँदा सुरक्षामा पनि अभिवृद्धि हुने उल्लेख गरे ।

विमानस्थलको मुख्य धावनमार्गसँगै समानन्तर हुनेगरी ७५ मिटरमा ट्याक्सी वे बनाउन लागिएको बताए । उडान सुरक्षामा कुनै खतरा उत्पन्न नहोस् भनेर उडान बन्द गरी विमानस्थल स्तरोन्नतिको काम गर्न लागेको उल्लेख गरे । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल १० घण्टा बन्द हुँदा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट विमानहरु सञ्चालन गर्न सकिने जानकारी दिए ।

नेपाल एअर ट्राफिक कन्ट्रोलर संघका अध्यक्ष तथा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यलयका प्रवन्धक विपिन बज्रचार्यले विमानस्थल स्तरोन्नति हुँदा रनवे अकुपेन्सी डेढ मिनेटको समय घट्ने बताए । उनले विमानस्थलमा हुने विमान डिले, ट्याक्सी वेमा हुने डिले समेत कम हुने उल्लेख गरे । एअर ट्राफिकहरुले सहज रुपमा एअर ट्राफिक कन्ट्रोल गर्नसक्ने अवस्था आउने जानकारी दिए ।

उनले प्राधिकरणले गर्न लागेको विमास्थलको क्षमता अभिवृद्धिले एअर ट्राफिक कन्ट्रोलर र वायुसेवा सञ्चालकहरुलाई बढी फाइदा रहेको उल्लेख गरे । वायुसेवा कम्पनीहरुलाई आर्थिक रुपमा पनि फाइदा हुने उल्लेख गरे ।

विमानस्थल स्तरोन्नति गर्न दैनिक १० घण्टा विमानस्थल बन्द हुँदा ३० प्रतिशतसम्म उडान कटौती हुने भन्दै वायुसेवा सञ्चालकहरु भने असन्तुष्टि जनाइरहेका छन् । विमानस्थल सञ्चालन समय घटाउँदा ३० प्रतिशतसम्म उडान कटौती हुन्छ । तर, विमानस्थल बिस्तार र पूर्वाधार निर्माणले जहाज आवतजावत तथा दीर्घकालीन ट्राफिक व्यवस्थापनमा सहज हुन्छ । विमानस्थल बन्द भएपनि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल रहेका छन् ।

२५ प्रतिशत धावनमार्गको क्षमता वृद्धि

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको नागरिक उड्डयन प्राधिकरणले क्षमता र गुणस्तर अभिवृद्धि गर्ने विमानस्थल मर्मतको काम गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले कात्तिक २३ गतेदेखि करिव पाँच महिना दैनिक १० घण्टा उडान बन्द गरेर विमानस्थल बिस्तार गर्न लागेको छ ।

प्राधिकरणले विमानस्थलको दक्षिण-पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’ लगायत बिस्तार गर्ने तयारी गरेको छ । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गसँगै समानन्तर हुनेगरी ट्याक्सी वे बनाउन लागिएको छ ।

जसमा विमानस्थलको स्तरोन्नतिपछि २० देखि २५ प्रतिशत धावनमार्गको क्षमता वृद्धि गरी विमानस्थलको एयर ट्राफिक व्यवस्थापन गर्ने प्राधिकरणको लक्ष्य छ । विमानस्थल बिहान ६ बजे खुलेर राति २ बजेसम्म सञ्चालन हुँदै आएको भएपनि विमानस्थल मर्मत शुरु भएसँगै दैनिक १० घण्टा विमानस्थल बन्द रहनेछ ।

अहिले भन्दा एयर ट्राफिक व्यवस्थापन गर्न एअर ट्राफिक कन्ट्रोलरहरुलाई धेरै सहज हुने बताइएकाे छ । ‘सुरक्षाको स्तर अभिवृद्धि हुन्छ । वर्तमान ट्याक्सी वे रनवेदेखि ११० मिटरको मात्रको दूरीमा रहेको निर्माणाधिन समानान्तर ट्याक्सी वे रनवे १७२.५ मिटरको दूरीमा हुने भएकाले आइकाओको मापदण्ड परिपालना हुन्छ । निर्माणाधिन १८ वटा पार्किङ एप्रोनहरु तयार भएपछि विमानहरु आकाशमा होल्ड गर्नुपर्ने समस्या कम हुन्छ,’ ज्रचार्य भने ।

७ महिना अघि विमानस्थल मर्मत गर्ने निर्णय

विमानस्थलमा विमान गुड्ने मार्ग ट्याक्सि वे र विमानस्थलमा यात्रु वा मालसामान चढाउने,उतार्ने,इन्धन भर्ने,पार्किङ र मर्मतसम्भार गर्ने क्षेत्र एप्रोन बनाउने कार्य गर्नको लागि विमानस्थल बन्द गर्ने निर्णय करिव ७ महिना अघि नै वायुसेवा कम्पनीहरुलाई समेत जानकारी लिएर एयर एआईपी सप्लिमेण्ट प्रकाशन समेत गरेको थियो ।

विमानस्थलको महत्वपूर्ण ग्राहक भनेको वायुसेवा सञ्चालक कम्पनीहरु हुन् । विमानस्थलको आम्दानीको प्रमुख स्रोत भनेकै वायुसेवा सञ्चालक कम्पनीहरुबाट प्राप्त हुने भएकाले वायुसेवा सञ्चालक कम्पनीहरुसँग परामर्श गरी उक्त कार्य अघि बढेको हो । आन्तरिक तथा अन्तर्राष्ट्रिय वायुसेवा सञ्चालक कम्पनीहरुसँगैका छलफल परामर्श गरी लिखित सहमतिका आधारमा निर्माण कार्य अघि बढेको हो ।

विमानस्थलमा हवाई यात्रा गर्ने यात्रुको चाप अत्याधिक वृद्धि भएसँगै प्राधिकरणले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना अध्यावधिक गरी क्रमिक रुपमा क्षमता बिस्तार गर्ने लागेको छ । जसअनुसार रनवेको लम्बाई बराबर हुनेगरी एक छेउदेखि अर्को छेउसम्म जोड्ने समानान्तर ट्याक्सी वे तथा ट्याक्सी वेहरु,अन्तर्राष्ट्रिय तथा आन्तरिक विमान पार्किङ एप्रोनहरु,विमान मर्मतसम्भार गर्ने सुरक्षित ह्यांगरहरु निर्माण गर्ने योजना छ ।

अहिलेको अन्तर्राष्ट्रिय टर्मिनल भवनलाई आन्तरिक भवनमा रुपान्तरण गरी नयाँ अन्तर्राष्ट्रिय टर्मिनल भवन क्षमता १ करोड यात्रु प्रतिवर्ष, (३५०० यात्रु प्रति घण्टा) निर्माण गर्ने योजना छ ।

एशियाली विकास बैंकको ऋण सहयोगमा रनवेको दक्षिणतर्फ जोड्ने समानान्तर ट्याक्सी वे र रनवेको पूर्वतर्फ ह्यांगर,एप्रोन र एक्जिट ट्याक्सी वेहरु निर्माण गर्नेछ । प्राधिकरणको लगानीमा रनवेको उत्तरतर्फ जोड्ने समानान्तर ट्याक्सी वे र अन्तर्राष्ट्रिय पार्किङ एप्रोन निर्माण कार्य हुनेछ ।

विमानस्थल सञ्चालनको समयमा निर्माण कार्य सम्भव नभएकाे बताइएकाे छ । विमानस्थल सञ्चालनको क्रममा निर्माण कार्य गर्नु भनेको जोखिम र चुनौतीपूर्ण कार्य हो । आईकाओको मापदण्डअनुसार विमानस्थल भित्र विभिन्न क्षेत्रलाई संवेदनशिल क्षेत्रका आधारमा वर्गिकरण गरिएको हुन्छ । रनवेको केन्द्रबाट दायाँबायाँ ७५ मिटर दूरीसम्मको क्षेत्र अति संवेदनशिल क्षेत्रमा पर्छ ।

पर्यटनको सिजन भएपनि विकास निर्माणको कार्य गर्ने उपयुक्त समय भएकाले प्राधिकरणले अहिलेको समय रोजेको बताएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.