२०८१ कार्तिक २५ गते १४:२८ विकासन्युज
काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपालमा भारतबाट सबैभन्दा धेरै ड्रग्स आउने गरेको बताएका छन् । आइतबार काठमाडौंमा एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले नेपाल र भारतबीचको खुला सीमानाले पनि ड्रग्स सप्लाइ हुन सहज हुने गरेको बताए । नेपालमा विद्यालयस्तरबाटै चुरोट सेवन गर्ने र युवाअवस्थामा ड्रग्स सेवन गर्ने क्रम बढ्दो रहेकाले नियन्त्रणको आवश्यकता रहेको बताए । सरकारले नियन्त्रणका लागि विभिन्न ऐन, कानून निर्माण गरेको भएपनि चाहेको जति नियन्त्रण हुन नसकेको जानकारी दिए ।
यस्तै, उनले नेपालमा ड्रग्स उत्पादन गर्ने कुनै कम्पनी नभएपनि भारतबाट खुला सीमानाका कारण बढी ल्याइने गरेको बताए । दुई देशको बीचमा ड्रग्स नियन्त्रणमा कसरी काम गर्ने भन्नेबारेमा छलफल गर्न आफूहरु तयार रहेको जानकारी दिए ।
‘विद्यालयस्तरबाटै यहाँका विद्यार्थी विभिन्न कारणले चुरोट, बिँडी, कक्षा नौ वा १० कक्षाबाट नै खान शुरु गर्दछन् । भारतबाट वा अन्य तेस्रो मुलुकबाट ल्याएर खाने गर्दछन्, जसकारणले युवाहरु अपाङ्ग भएका छन्’, उनले भने ।
मन्त्री चौधरीले नेपालमा ड्रग्सको समस्या धेरै नै नरहेकाले समस्या समाधानका लागि भारत सरकारसँग सहयोगको आग्रह गरे ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.