२०८१ कार्तिक २५ गते १४:३६ विकासन्युज
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले मंसिरमा पनि ब्याजदर घटाउने भएका छन् । दशैं तिहारपछि बैंकहरूमा निक्षेप थुप्रिएर लगानी नभएपछि बैंकहरूले मंसिरमा पनि ब्याजदर घटाउने भएका हुन् ।
कात्तिकमा बैंकहरूको ब्याजदर औसत व्यक्तिगततर्फ औसत ६ प्रतिशत छ भने संस्थागततर्फ औसत ४.९७ प्रतिशत कायम छ । बैंकहरूले बचततर्फ ब्याजदर ३ प्रतिशतको हाराहारीमा झारिसकेका छन् । निरन्तर ओरालो लाग्दै आएको ब्याजदर बैंकहरूले कात्तिकमा पनि घटाएका थिए ।
पछिल्लो तथ्याङ्क अनुसार अधिकांश बैंकको ब्याजदर न्यूनतम बिन्दुमा छ । यदि अझैं घटाउन मिल्ने भए बैंकहरू ब्याजदर घटाउन तयार छन् । तर, नेपाल राष्ट्र बैंकले निक्षेपमा ब्याजदरको न्यूनमत बिन्दुको सीमा तोकेको छ । सो बिन्दुभन्दा तल ब्याजदर झार्न मिल्दैन ।
बैंकिङ क्षेत्रमा प्रयाप्त तरलता र कर्जाको माग नभएकाले मंसिरमा पनि ब्याजदर घटाउने भएका हुन् । तर, बैंकहरूको ब्याजदर न्यूनतम बिन्दुमा भएकाले थोरै मात्रै घट्ने एक बैंकरले बताए । उनका अनुसार मंसिरमा बैंकको निक्षेपतर्फको ब्याजदर अझै घट्न सक्नेछ ।
‘दशैं तिहारमा रेमिट्यान्स पनि ह्वात्तै बढेको छ, दशैं तिहार अवधिमा बैंकहरूमा निक्षेप बढेको नै छ, फाइनान्स कम्पनी र विकास बैंकमा राम्रो निक्षेप आएको छ, उनीहरूको पनि निक्षेप आएको देखिन्छ,’ उनले भने, कर्जा प्रवाह हुन सकेको छैन, पैसा फालाफाल नै छ, राष्ट्र बैंकले पनि तिहार लगत्तै डेढ खर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट निक्षेप खिचेको छ, जबकी दोब्बर रकम राख्न बैंकहरू तयार छन् ।’
कन्सोर्टियम कर्जा र जलविद्युतका लागि कर्जाको माग आएपनि व्यक्तिगत कर्जाको माग नआएको ती बैंकको भनाइ छ । उनका अनुसार घरकर्जा ७/८ प्रतिशतमा दिँदा पनि बजारमा माग आएको छैन । बैंकहरूको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) औसत ७८ प्रतिशत हाराहारीमा रहेको उनले बताए ।
‘मंसिरमा बैंकहरूको ब्याजदर घटेपनि धेरै घट्ने ठाउँ छैन । किनभने ३ प्रतिशतभन्दा तल झार्न मिल्दैन । मुद्दती निक्षेपमा पनि ग्याप राख्नुपर्ने हुन्छ,’ उनले भने, ‘अब ब्याजदर घटेपनि ०.१० प्रतिशत नै हो, जसको घटाउने ठाउँ छ, उनीहरूले घटाउन सक्छन् ।’
Copyright © 2024 Bikash Media Pvt. Ltd.