बाढी पहिरोको क्षतिको दाबी भुक्तानी सुस्त भएपछि प्राधिकरण ‘फायर’, दोस्रो पटक लिखित निर्देशन

  २०८१ कार्तिक २५ गते १८:१९     विकासन्युज

काठमाडाैं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूलाई बीमा दाबी भुक्तानी छिटो गर्न निर्देशन दिएको छ । कम्पनीहरुले दाबी भुक्तानीमा ढिलो गरेको उल्लेख यथाशिघ्र र प्रभावकारी पार्न प्राधिकरणले निर्देशन दिएको हो ।

‘हालसम्म अत्यन्त न्यून संख्या र रकममा मात्र दाबी भुक्तानी भएकोमा गम्भीरर ध्यानाकर्षण भएको छ, बीमा दाबी सम्बन्धमा पटक–पटक प्राधिकरण र बीमकका प्रतिनिधिको उपस्थितिमा भएको छलफल तथा निर्णय अनुसार तदारुकताकासाथ क्षति मुल्याङ्कन (सर्भे) गराई दाबी फछ्यौट कार्य प्रभावकारी बनाउनु हुन निर्देशानुसार अनुरोध छ ।,’ प्राधिकरणले दिएको निर्देशनमा भनिएको छ ।

गत असोजको दोस्रो साता आएको अबिरल वर्षासँगै आएको बाढी पहिरोका कारण ठूलो धनजनको क्षति भएको थियो । त्यसमध्ये बीमा कम्पनीहरुमा साढे १० अर्ब रुपैयाँको दाबी पेस भएको थियो ।

बाढी पहिरोले भएको क्षतिको बीमा दाबी भुक्तानी छिटो गर्न प्राधिकरणले बीमा कम्पनीहरुलाई निर्देशन दिएको थियो । प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरुका प्रमुख कार्यकारी अधिकृतहरुलाई बोलाएर छिटो दाबी भुक्तानी दिन भनेका थिए । सोही अनुसार कम्पनीहरुले पनि प्राधिकरणलाई विश्वस्त बनाएको थियो ।

कम्पनीमा पेस भएको दाबी र दिएको भुक्तानीको विवरण हरेक साताको बुधबार प्राधिकरणमा पेस गर्नुपर्ने सर्तसहित प्राधिकरणले कम्पनीहरुलाई निर्देशन गरेको थियो । तर, धन सम्पत्ति क्षति भएको डेढ महिना हुनलाग्दा पनि कम्पनीहरु दाबी भुक्तानीमा उदार देखिएका छैनन् । अर्थात कम्पनीहरुले एकदमै न्यून मात्रामा मात्रै दाबी भुक्तानी दिएका छन् ।

दाबीको ४.४७ प्रतिशत मात्र भुक्तानी

उक्त बाढी पहिरोपछि बीमा कम्पनीहरुमा १० अर्ब ५३ करोड २७ लाख रुपैयाँ माग दाबी पेश भएको थियो । जसमध्ये असोज कार्तिक २० गतेसम्म कम्पनीहरुले ४७ करोड ११ लाख रुपैयाँ मात्र भुक्तानी दिएका छन् । जुन कुल दाबी रकमको ४.४७ प्रतिशत भुक्तानी भएको हो ।
यसरी भुक्तानी दिनेमा शिखर इन्स्योरेन्स अगाडी रहेको छ । शिखर एकलैले २५ करोड १९ लाख बढी दाबी भुक्तनी दिएको छ । शिखरले पनि कुल दाबीको जम्मा २४.२३ प्रतिशत मात्र भुक्तानी दिएको छ । शिखरमा १ अर्ब ३ करोड ९५ लाख रुपैयाँ दाबी पेश भएको थियो ।
अन्य कम्पनीहरुले दिएको दाबी भुक्तानी अत्यन्त न्यून रहेको छ ।

हालसम्म बीमा कम्पनीहरुमा ३ हजार ४ सय ६० वटा दाबी पेश भएकोमा ६ सय ३७ वटा दाबीमा मात्र भुक्तानी भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.