२०८१ कार्तिक २७ गते १२:५८ इन्द्रसरा खड्का
काठमाडौं । डोटीकी विनीता साउद चिसो समय आएसँगै जहिल्यै चिन्तित हुन्छिन् । कारण छोरालाई केही पो हुन्छ कि भन्ने पीर । विनीताका छोरा अविन अहिले ४ वर्ष पुरा भइ पाँच वर्षमा लागे । जन्मेको १ महिनामै निमोनिया भएर अस्पताल भर्ना गर्नुपर्यो । केही दिनको अस्पताल बसाईं र उपचारपछि उनले छोरालाई घर ल्याइन् । घर ल्याएको केही समयसम्म ठिक भएपनि त्यसपछि पनि पटक पटक छोरालाई अस्पताल पुर्याउनुपरेको पीडा अहिलेसम्म पनि विनीतालाई ताजै छ ।
उनी भन्छिन्, ‘जन्मिँदै निमोनिया भयो, त्यसपछि पनि धेरै पटक यो समस्या देखियो । अहिले फेरि चिसो बढ्न थाल्यो, छोरालाई केही पो हुन्छ कि भन्ने पीर लाग्छ ।’
अहिले पनि अविनलाई अलिकति चिसो हुँदा निमोनियाले समाइहाल्छ । ‘सानोमा निमोनिया भएकोलाई त पछिसम्म पनि समस्या हुन्छ रे भन्ने सुनेकी छु,’ विनीता भन्छिन्, ‘अहिले पनि बाहिरको खानपिनदेखि तातो पार्ने कुरामा ध्यान दिइरहेकी छु ।’
विनीताजस्तै बैतडीकी गीता अवस्थीलाई पनि अस्पताल बस्नु परेको तीतो घटना अहिले पनि याद आउँछ । जन्मेको ८ दिनमै छोराको फोक्सोमा समस्या भएपछि उनले नेपालमात्र होइन, भारतसम्मका अस्पताल धाउनु पर्यो । २ वर्ष अस्पतालको बासपछि अहिले उनका छोराको स्वास्थ्य ठीक छ, तर बेलाबेला श्वासप्रश्वासको समस्या भइरहने भएकाले उनलाई अहिले पनि छोराको स्वास्थ्यले पिरोलिन्छ ।
नेपालमा अहिले पनि निमोनिया एक प्रमुख जनस्वास्थ्य समस्याको रूपमा रहेको छ । एक अध्ययनले नेपालमा बालबालिकाको मृत्युको प्रमुख कारण निमोनिया बताएकाे छ । जसमा पाँच वर्षभन्दा कम उमेरका बालबालिकाको मृत्युको १३ प्रतिशत हुने गरेको देखाइएको छ । यही कारण कयौं बालबालिका मृत्युको मुखमा पुगिरहेका छन् । नेपालमा निमोनियाबाट प्रत्येक वर्ष हजारौं बालबालिका प्रभावित हुने गरेका छन् ।
ग्लोबल बर्डेन अफ डिजिजको तथ्यांकअनुसार सन् २०२१ मा निमोनियका कारण २२ लाख मानिसको मृत्यु भएको अनुमान गरिएको छ, जसमा ५ लाख २ हजार बालबालिका छन् । यसबाहेक कोभिड-१९ का कारण १ करोड मानिसको मृत्यु भएको थियो ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार ५ वर्षमुनिका बालबालिकाको मृत्युमा १४ प्रतिशत कारक निमोनिया रहने गरेको छ भने समग्र मृत्युको २२ प्रतिशतमा निमोनिया कारक रहने गरेको छ। २०१९ मा मात्र ७ लाख ४० हजार १ सय ८० बालबालिकाको मृत्यु निमोनियाबाट भएको डब्ल्यूएचओको तथ्यांक छ ।
यस रोगको जोखिम ग्रामीण तथा दुर्गम क्षेत्रमा बढी देखिन्छ, जहाँ स्वास्थ्य सेवा र सुलभ उपचारको अभाव छ । सरकार र विभिन्न संस्थाहरूले बालबालिकामा खोप कार्यक्रम, आम जनचेतना र नियमित स्वास्थ्य परीक्षणमार्फत निमोनिया नियन्त्रणका लागि प्रयास गर्दै आएका छन्, जसले बाल मृत्युदर घटाउनमा महत्त्वपूर्ण योगदान पुर्याइरहेको छ ।
छातीरोग विशेषज्ञ डाक्टर अशेष ढुंगाना नेपालमा बालबालिकामात्र नभइ युवा र वृद्धवृद्धामा पनि निमोनिया समस्याका रूपमा देखा पर्ने गरेको बताउँछन् । उनी बालबालिकामा अझै बढी यो समस्या हुने भएपनि आजभोलि जुनसुकै उमेरका व्यक्तिलाई पनि यो समस्या देखिने गरेको उनले बताए । उनी कार्यरत वीर अस्पतालमा पनि वर्षभरि १४ वर्षमाथिका युवादेखि वृद्धवृद्धासमेत आउने गरेको जानकारी दिए । उनी भन्छन्, ‘विशेष गरेर बालबालिका र वृद्धवृद्धामा यसकाे रिक्स बढी हुन्छ तर जोखिम सबैलाई हुन्छ, कसैलाई जटिल भएर आइसीयूमै राख्नुपर्ने अवस्थाका बिरामी पनि अस्पताल आइपुग्छन् । ’
निमोनिया शीर्ष एकमा
कान्ति बाल अस्पतालमा आउने अधिकांश बिरामी निमोनियाका आउने गरेको अस्पतालले जनाएको छ । अस्पताल प्रशासनका अनुसार अस्पतालमा भर्ना हुने अधिकांश रोगमध्ये निमोनिया भएका बालबालिका सबैभन्दा बढी आउने गर्छन् । अस्पतालको तथ्यांक अनुसार आर्थिक वर्ष २०८०/०८१मा अस्पतालमा भर्ना भएका ९ हजार ६ सय ८३ बिरामीमध्ये ९ सय ७५ जनामा निमोनियाको संक्रमणकै कारण भर्ना गर्नुपरेको थियो ।
यस्तै, आव २०७९/८० मा अस्पतालमा भर्ना भएका ९ हजार ४ सय ६८ मध्ये १ हजार १ सय ४ बालबालिका कोरोनाको संक्रमण भएको थियो भने आव २०७८/०७९ मा अस्पतालमा भर्ना भएका ७ हजार ९ सय ५२ मध्ये ८ सय ८२ जना बालबालिकामा निमोनियाको संक्रमण भएको थियो । अस्पतालका सूचना अधिकारी रमेश नरसिंह केसीका अनुसार ५ वर्षभन्दा मुनिका बालबालिकामा यो समस्या बढी देखिने गरेको छ । बालबालिकामा श्वासप्रश्वासका विभिन्न समस्या लिएर अस्पताल आउने गरेको र जाँच गर्दा निमोनिया हुने गरेको उनले बताए ।
एउटै कारणले मात्र हुँदैन निमोनिया
निमोनिया विशेषगरी बालबालिकामा यो समस्या देखिनुको एउटै कारण नहुने चिकित्सकहरू बताउँछन् । बालरोग विशेषज्ञ डा. रामहरि चापागाईं विभिन्न कारणले बालबालिकामा यो समस्या देखिने गरेको बताउँछन् । उनका अनुसार निमोनिया विभिन्न ब्याक्टेरिया तथा भाइरसका कारण हुन्छन् ।
छातीरोग विशेषज्ञ डा. अशेष ढुंगाना पनि अस्पताल आउने अधिकांश छातीको समस्या वा श्वासप्रस्वासको समस्या लिएर आउने गरेको पछि जाँच गर्दा निमोनिया भएको थाहा हुने गरेको बताउँछन् । भन्छन्, ‘पनि छातीको संक्रमण भएकाले यो समस्या लिएर धेरै आउँछन् तर, हामीसँग यति जना निमोनियाको बिरामी आउँछन् भन्ने तथ्यांक छैन । ’
विशेषगरी इन्फ्लुएन्जाबाट हुने निमोनिया र भाइरसको संक्रमण भएर हुने निमोनिया चिसो समयमा बढी देखिने गरेको उनी बताउँछन् ।
दिगो विकासमा चुनौती
नेपाल सरकारले २०३० सम्ममा दिगो विकासको लक्ष्य प्राप्त गर्ने प्रतिबद्धता गरेकाे छ । यो लक्ष्य प्राप्ति गर्न स्वास्थ्यमा मात्रै १३ प्रतिशत परिणाम देखिने लक्ष्य र ६० प्रतिशत धेरै सूचकमा अन्तराष्ट्रिय प्रतिबद्धता जनाएको छ । दिगो विकासका लक्ष्यमा नेपालले मातृ मृत्युदर, नवजात शिशुको मृत्यु अन्त्य, सरुवा रोग नियन्त्रण, मानसिक स्वास्थ्य प्रवर्द्धनलगायतका विषयलाई मुख्य रूपमा राखेको छ । तर, यो प्रतिवद्धतामा निमोनिया बाधक बन्ने देखेको विज्ञहरू बताउँछन् ।
२०१६ देखि २०३० सम्मका लागि तय गरिएको दिगो विकास लक्ष्यमा नेपालले प्रत्येक १ लाख जीवित जन्ममा मातृ मृत्युदरलाई ७० भन्दा कम गर्ने लक्ष्य लिएको छ । तर, तथ्यांक हेर्ने हो भने प्रति एक लाख जीवित जन्ममा मातृ मृत्युदर अहिले एक सय ५१ छ । अर्थात् १ लाख जना सुत्केरी हुँदा १ सय ५१ आमाले ज्यान गुमाइराखेका छन् । पाँच वर्षभित्र दिगो विकासको लक्ष्य भेट्टाउन त्यो संख्या ७० भन्दा तल हुनुपर्छ ।
यस्तै, ५ वर्षभन्दा तलका नवजात शिशुको मृत्युदर प्रतिहजार जीवित जन्ममा १२ जनाभन्दा बढ्न नदिने लक्ष्य छ । अहिले त्यो संख्या झन्डै दोब्बर अर्थात २१ छ । अबको ६ महिनामा १४ मा झार्नुपर्ने भए पनि यथाअवस्थामा असम्भव जस्तै छ । बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतम निमोनिमा एउटै कारणले मात्र नहुने भएकाले खोप लगाउँदा पनि यसमा चुनौती देखिएको बताउँछन् । निमोनिया गराउने सबभन्दा मुख्य ब्याक्टोरिया स्ट्रेप्टोकोकस निमोनियाइ हो ।
माइक्रोप्लाज्मा निमोनियाइ, हेमोफिलुस इन्फ्लुन्जाइ, लेगियनेल्ला निमोफिला जस्ता ब्याक्टोरियाले यो रोग लाग्छ । यतिमात्र होइन, थुप्रै भाइरसका कारण पनि यो रोग लाग्ने गर्छ । निमोनिया विरुद्धको खोप प्न्युमोकोकल हो । तर डा. गौतम यसले मात्र निमोनिया लाग्नबाट नरोक्ने बताउँछन् । भन्छन्, ‘अरू विभिन्न संक्रमणले पनि यो रोग लाग्छ, यसलाई नियन्त्रण गर्न हामीले अन्य पाँच किसिमका खोपहरू लगाउँदै आएका छौं ।’
नेपाल सरकारले ५ वर्षमुनिका बालबालिकामा कुनैपनि संक्रमण नहोस् भनेर नियमित खोप आभियानलाई तीव्र पारेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अहिले खोजीखोजी बालबालिकालाई सबै प्रकारका खोप लगाउने अभियान नै सञ्चालन गरिएको छ । डा. गौतम ५, १० र १४ महिनामा लगाउने अरू खोपले पनि निमोनिया लाग्न नदिने काम गर्ने भएकाले बालबालिका सबैलाई खोपको पहुँचमा ल्याउने प्रयास गरिएको बताउँछन् । उनले यो प्रयासका बाबजुत पनि कतिपय बालबालिका अझै पनि खोपको पहुँच बाहिर रहेकाले उनीहरूको खोजी गरिरहेकाे र गर्नुपर्नेमा जाेड दिए ।
के हो निमोनिया ?
निमोनिया भनेको फोक्सो संक्रमणले गर्दा लाग्ने रोग हो । यसले ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या ल्याउँछ । यो ब्याक्टेरिया र भाइरसका कारणले लाग्छ । श्वासप्रश्वासको माध्यमबाट एकदेखि अर्को व्यक्तिमा लाग्ने भएकाले यसलाई सरुवा रोग पनि भनिन्छ ।
यो संक्रमण सामान्यतया ब्याक्टेरिया, भाइरस, फङ्गस वा अन्य सूक्ष्मजीवहरूद्वारा उत्पन्न हुन्छ। निमोनिया फोक्सोको कार्यमा विघटन ल्याउँछ, जसकारण श्वासप्रश्वासमा कठिनाइ, खोक्ने र शरीरमा अक्सिजनको कमी हुन सक्छ । यसको उपचार समयमै नगरेमा गम्भीर अवस्था आउन सक्छ ।
विशेष गरी सानो बच्चा, वृद्ध व्यक्ति र कमजोर प्रतिरक्षा प्रणाली भएका व्यक्तिहरूलाई यो रोगले अधिक जोखिममा पार्छ । निमोनियाको उपचार ब्याक्टेरिया संक्रमित अवस्थामा एन्टिबायोटिक्स र भाइरस संक्रमित अवस्थामा एन्टीभाइरल उपचारको माध्यमबाट गरिन्छ ।
सरकारी तथ्याकंमा कमी
अस्पतालमा जाँदा भयावह देखिने यो रोग सरकारी तथ्याकंमा पनि कमी हुँदै गएको पाएको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको आफ्नो वार्षिक प्रतिवेदनमा तथ्यांकमा कमी देखिएको हो ।
आव २०७९/८० मा स्वास्थ्य संस्थाहरू र प्राथमिक स्वास्थ्य केन्द्र/औषधी केन्द्रमा ६ लाख ८९ हजार ३१० तीव्र श्वासप्रश्वास संक्रमण (एचआरआई) का केसहरू दर्ता भएका थिए, जसमा ३३.६ प्रतिशत केस निमोनिया र ०.३७ प्रतिशत केस गम्भीर निमोनियाअन्तर्गत वर्गीकृत गरिएको थियो ।
पाँच वर्षमुनिका बालबालिकामा राष्ट्रिय निमोनिया दर २२ % भन्दा बढी घटेर १,००० बालबालिका मध्ये ५५.१ मा पुगेको थियो । कर्णाली प्रदेशमा (एचआरआई) दर सबैभन्दा उच्च (१,००० बालबालिका मध्ये ४०६) रहेको थियो, त्यसपछि सुदूरपश्चिम प्रदेशमा (१,००० बालबालिका मध्ये ३५६) रहेको थियो र मधेश प्रदेशमा सबैभन्दा कम (१,००० बालबालिका मध्ये २०९) रहेको थियो।
कर्णाली र सुदूरपश्चिम प्रदेशमा (एचआरआई) केसहरूमा निमोनियाको प्रतिशत सबैभन्दा उच्च (क्रमशः १९.९८ प्रतिशत र १६.२१ प्रतिशत थियो, जबकि मधेश प्रदेशमा सबैभन्दा कम (८.७९ प्रतिशत रहेको रिपोर्टमा उल्लेख छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.