३ बैंकसहित यी ५ संस्थाबाट संस्थापक बाहिरिँदै, बिक्रीमा राखे सेयर

  २०८१ कार्तिक २७ गते ७:३३     विकासन्युज

काठमाडौं । विभिन्न ५ बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयर बिक्रीमा राखिएको छ । प्राइम बैंक, लुम्बिनी विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक, महुली लघुवित्त र महिला लघुवित्तको संस्थापक समूहको सेयर बिक्रीमा राखिएको हो ।

प्राइम बैंकले संस्थापक समूहको सेयर बिक्रीमा राखिएको भनेपनि कति कित्ता सेयर हो भनेर खुलाएको छैन । तर, सेयर खरिद गर्न इच्छुकले १५ दिनभित्र आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

यस्तै, लुम्बिनी विकास बैंकको १५ हजार ८१२ कित्ता सेयर बिक्रीमा राखिएको छ । बैंकका संस्थापक सेयरधनी बिनिता अधिकारीको नाममा रहेको ९ हजार ३३३ कित्ता र निर्मला तुलाधरको ६ हजार ४७९ कित्ता सेयर बिक्रीमा राखिएको हो । बैंकको सेयरमा सर्वसाधारण लगानीकर्ताले समेत आवेदन दिन पाउनेछन् ।

यस्तै, मितेरी डेभलपमेन्ट बैंकका संस्थापक सेयरधनी मोहन कुमार सुवेदीले आफ्नो नाममा रहेको ४४ हजार ८४१ कित्ता सेयर बिक्रीमा राखेका छन् । उनले बिक्रीमा राखेको सेयर विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । तर, ३५ दिनभित्र खरिद नगरेमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ । बैंकको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल रहेको छ ।

यस्तै, महुली लघुवित्तबाट दुई संस्थापक सेयरधनी बाहिरिने भएका छन् । लघुवित्तका संस्थापक सेयरधनी कविता कुमारी चौधरीले आफ्नो नाममा रहेको ५ हजार कित्ता र सुरत लाल चौधरीले ६ हजार कित्ता गरी ११ हजार कित्ता सेयर बिक्री गरेर बाहिरिने भएका हुन् । उक्त सेयर खरिद गर्न इच्छुक जोकोही लगानीकर्ताले ७ दिनभित्र आवेदन दिनुपर्नेछ ।

यस्तै, महिला लघुवित्तको संस्थापक समूहको ८६ हजार ३२५ कित्ता सेयर बिक्रीमा राखिएको छ । लघुवित्तको सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले मंसिर ३ गतेभित्र आवेदन दिनुपर्नेछ । लघुवित्तको सेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.