२ हाइड्रोको लाभांश पाउन आज सेयरधनी बन्नुपर्ने

  २०८१ कार्तिक २७ गते ७:५०     विकासन्युज

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर र विन्ध्यबासिनी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज कात्तिक २७ गते अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ मन्दाकिनी र विन्ध्यबासिनी हाइड्रोले कात्तिक २८ गते बुकक्लोज गर्ने निर्णय गरेका छन् ।

त्यसैले आजसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भई कायम सेयरधनीहरूले यी दुई कम्पनीको सभामा सहभागि भएर लाभांश प्राप्त गर्न सक्नेछन् ।

मन्दाकिनी हाइड्रोपावरले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद गरी कुल ५.२६३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

लाभांश पारित गर्न कम्पनीले मंसिर ७ गते नेपाली चुलो लाजिम्पाट काठमाडौंमा ११औँ वार्षिक साधारण सभा बिहान ८ बजे बोलाएको छ ।

बोनस सेयर वितरणपश्चात् १ बराबर १.२५ अनुपातमा हकप्रद सेयर जारी गर्ने, माथिल्लो सार्दी खोला जलविद्युत आयोजना २.९ मेगावाट परियोजना निर्माण गर्न, डल्फिन पावर प्रालिमा लगानी गर्न तथा बैंक ऋण भुक्तानी गर्न हकप्रद सेयर निष्काशन प्रस्ताव पारित गर्नेछ ।

यस्तै, विन्ध्यवासीनी हाईड्रोपावर डेभलपमेन्ट कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट चुक्ता पुँजी १ अर्ब ५ करोड रुपैयाँको ८ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले मंसिर ६ गते नयाँ बानेश्वर काठमाडौंमा भौतिक तथा भर्चुअल माध्यमबाट आठौँ वार्षिक साधारण सभा बिहान ११ बजे बोलाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.