२०८१ कार्तिक २७ गते १२:३२ विकासन्युज
काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई पुनः ६ बुँदे स्पष्टीकरण सोधेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले उनलाई स्पष्टीकरण सोधेको हो ।
अहिलेको स्पष्टीकरणमा पहिलेको जवाफ किन समयमा नपठाएको, डेडिकेटेड र ट्रंकलाइनको महसुल किन समयमै नउठाएको, मन्त्रालय मातहतको निकाय भए पनि सबै जानकारी किन माथि नदिएको जस्ता विषय समेटिएर मन्त्रालयले उनलाई स्पष्टीकरण सोधेको हो ।
सरकारले यसअघि पनि घिसिङसँग १५ बुँदे स्पष्टीकरण माग गरेको थियो । कात्तिक १३ गते ऊर्जासचिव सुरेश आचार्यले बिदाबाहेक सातदिनको म्याद दिएर घिसिङलाई स्पष्टीकरण पत्र पठाएका थिए । १३ गते पत्र पठाए पनि १५ देखि १९ गतेसम्म तिहार बिदा भयो । २२ गते छठको बिदा पर्यो । त्यही कारण सरकारले पठाएको पत्रको जवाफ पठाउने अन्तिम दिन आज हो । हालसम्म घिसिङले यसको जवाफ नपठाएको ऊर्जा मन्त्रालयको भनाइ छ ।
वर्तमान सरकार कुलमानलाई हटाउने पक्षमा छ । प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जामन्त्री दीपक खड्काले उनलाई हटाउने तयारी थालेका छन् । घिसिङले लाइन काटेका उद्योगमा लाइन जोड्ने सरकारको निर्णयलाई कार्यान्वयन गरेका छैनन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.