२०८१ कार्तिक २७ गते १४:३४ विकासन्युज
काठमाडौं । वीरगञ्ज महानगरपालिकाले एकैपटक १० हजारभन्दा बढी किशोरीहरूलाई आत्मरक्षाका लागि तालिम दिने भएको छ ।
महानगरभित्रका कक्षा ६ देखि १२ सम्मका छात्राहरुलाई तालिम दिन लागिएको महानगरपालिकाका प्रमुख राजेशमान सिंहले जानकारी दिए ।
बुधवार बिहान १० बजेबाट सुरु हुने प्रशिक्षण कार्यक्रममा वीरगञ्जका सामुदायिक र निजी विद्यालय, क्याम्पस गरी १० हजार बढी छात्राहरूको सहभागिता रहने उनले बताए ।
एकसाथ १० हजार भन्दा बढी किशोरीलाई आत्मरक्षाको तालिम दिएर वर्ल्ड रेकर्डसहित गिनिज बुकमा धेरै किशोरीलाई एकसाथ तालिम दिएर महानगरको नाम लेखाउने तयारी समेत भएको उनले जानकारी दिए ।
वीरगञ्ज महानगरपालिकाको आयोजना तथा नेपाल—भारत सहयोग मञ्चको समन्वयमा भारतका ख्यातिप्राप्त मार्सल आर्ट प्रशिक्षक डाक्टर चिता यजनेश सेट्टीलाई बोलाएर सहभागिहरूलाई प्रशिक्षण दिन लागिएको महानगका उपप्रमुख इम्तियाज आलमले जानकारी बताए ।
आदर्शनगर रंगशालामा हुने प्रशिक्षणको सम्पूर्ण तयारी भइसकेको र छात्राहरूलाई ल्याउने लैजाने व्यवस्थासहित सुरक्षाको व्यवस्था मिलाइसकिएको महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले जानकारी दिए ।
भारतबाट आएका प्रशिक्षक सेट्टी अभिनेता, निर्देशक, निर्माता, मार्सल आर्टिस्ट र फिटनेस प्रशिक्षकसमेत हुन् । उनले अमिताभ बच्चन, सलमान खान, अजय देवगण, गोविन्दा, फरहान अख्तर, ऋतिक रोशन, रेखा, करिश्मा कपुर, रवीना टण्डन, माधुरी दीक्षित, रोजर मूर, ज्याकी च्यान जस्ता धेरै बलिउड र हलिउड स्टारहरूलाई आत्मरक्षासम्बन्धी प्रशिक्षण दिएका छन् ।
ख्यातिप्राप्त प्रशिक्षकद्वारा दिइने तालिमले छात्राहरु (किशोरी) आत्मरक्षाका लागि सक्षम हुने विश्वास नेपाल-भारत सहयोग मञ्चका अध्यक्ष अशोक वैदले व्यक्त गरे ।
पत्रकार सम्मेलनमा प्रशिक्षक शेट्टीले आफू नेपालका छात्राहरुलाई प्रशिक्षण दिन आउन पाउँदा खुशी लागेको बताए । बुधवार हुन लागेको प्रशिक्षणलाई व्यवस्थित बनाउन महिला स्वयंसेवीहरू खटाइएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.