पृथ्वीराजमार्ग दैनिक साढे ४ घण्टा अवरुद्ध हुने

  २०८१ कार्तिक २९ गते ६:५३     विकासन्युज

काठमाडौं । निर्माणाधीन मुग्लिन पोखरा सडकअन्तर्गत छिर्कने देउराली सडकखण्ड दैनिक साढे ४ घण्टा अवरुद्ध हुने भएको छ । पृथ्वीराजमार्गअन्तर्गत व्यास नगरपालिका-१२ छिर्कनेदेखि देउराली सडकखण्ड दुई चरणमा बन्द गरी निर्माणको काम गर्न लागिएको हो ।

मुग्लिन पोखरा सडक योजना (पूर्वीखण्ड) अन्तर्गत छिर्कने खण्डको निर्माण कार्यलाई तीव्रता दिन आगामी मङ्सिर ३ गतेदेखि २३ गतेसम्म दुई चरणमा सडकखण्ड पूर्ण रूपमा बन्द गर्न लागिएको योजनाका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए ।

उहाँका अनुसार उक्त अवधिमा राति ११ बजेदेखि बिहान १ बजेसम्म सडक पूर्ण रूपमा बन्द गरी सडक निर्माण गरिनेछ । बिहान १ बजेदेखि १ः३० बजेसम्म सडक आवागमन खुल्ला गरिने र पुनःदोस्रो चरणमा बिहान १ः३० बजेबाट ४ बजेसम्म सडक बन्द गरी निर्माणकार्य गरिने पाण्डेले जानकारी दिए । आकस्मिक अवस्थामा विशेष व्यवस्था गरी सवारी पास गराइने पाण्डेले जानकारी दिए ।

‘मुग्लिन पोखरा सडक योजनाको पूर्वीखण्डमा सडक निर्माणको कामलाई तीव्रता दिनका लागि छिर्कनेदेखि देउराली खण्डमा अत्यावश्यक सवारीबाहेक अन्य सवारी साधनका लागि उक्त अवधिमा पूर्ण रूपमा बन्द रहनेछ,’ उनले भने ।

उक्त अवधिमा रोकिने सवारीसाधनले सवारी रोक्दा र सवारी चलाउँदा कडाइका साथ ‘लेन’ अनुशासन कायम राख्न तथा सवारी लामबद्ध भएको अवस्थामा जथाभाबी ‘ओभरटेक’ नगर्न आग्रह गरिएको छ ।

मुग्लिन पोखरा सडकखण्डअन्तर्गत पूर्वीखण्डमा हालसम्म ६८ प्रतिशत प्रगति भएको छ । पाण्डेका अनुसार पूर्वीखण्डअन्तर्गत १४ वटा साना पुल निर्माण सकिएका छन् । यस्तै, २ ठूला पुल र १०३ कल्भर्ट निर्माणको काम सकिएको पाण्डेले जानकारी दिए । व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा निर्माण भइरहेको पुलअन्तर्गत २ सय पाइल निर्माण सकिएको र अब स्ल्याब तथा बिम बनाउने चरणमा पुगेको उनको भनाइ छ ।

पूर्वीखण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वीखण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.