२०८१ कार्तिक २९ गते ८:१६ विकासन्युज
काठमाडौं । शिवम् सिमेन्ट्सले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा १ करोड २७ लाख ९९ हजार रुपैयाँ खुद नाफा गरेको छ । जबकी गत वर्षको सोही अवधिमा कम्पनीले ५ करोड ३४ लाख २० हजार रुपैयाँ नोक्सानी बेहोरेको थियो ।
यस अवधिमा कम्पनीको आम्दानी घटेको भएपनि खर्च कटौति गरेका कारण नाफा धनात्मक हुन पुगेको हो । यस अवधिमा कम्पनीले खर्च घटाएको छ । कम्पनीको कुल खर्च २२.८५ प्रतिशत घटेर १८ करोड ९३ लाख रुपैयाँ गरेको छ । गत वर्ष कम्पनीले २४ करोड ५४ लाख रुपैयाँ कुल खर्च गरेको थियो ।
कम्पनीका अनुसार आर्थिक मन्दीको असर कायमै रहेको, विश्व बजारमा कोईला, डिजेल लगायतका सामानहरुको मूल्य वृद्धिको प्रभाव परेको छ । साथै, पहिलो त्रैमासको अधिकांश अवधि वर्षायाम रहेको र बाढी पहिरोका कारण सडक यातायात नियमित रुपमा संचालनमा प्रभाव परेको र निर्माणका कार्यमा समेत वर्षाको प्रभावले कमी आएको कम्पनीले बताएको छ ।
तीन महिनामा कम्पनीको सञ्चालन आम्दानी १३.५९ प्रतिशत घटेर १ अर्ब ४० करोड ६३ लाख रुपैयाँ गरेको छ । गत वर्ष कम्पनीले १ अर्ब ६२ करोड ७५ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।
असोज मसान्तसम्म कम्पनीको कुल नाफा ३९.२१ प्रतिशत घटेर १० करोड ३६ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १७ करोड ५ लाख रुपैयाँ कुल नाफा गरेको थियो ।
कम्पनीको अन्य आम्दानी भने ३९७.६४ प्रतिशत बढेर १० करोड ५७ लाख रुपैयाँ गरेको छ । गत वर्ष सोही अवधिमा कम्पनीले २ करोड १२ लाख रुपैयाँ अन्य आम्दानी गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी १४.२५ प्रतिशत बढेर ५ अर्ब २ करोड ७० लाख रुपैयाँ, जगेडा कोष १ प्रतिशत घटेर ४ अर्ब ४८ करोड ८० लाख रुपैयाँ रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी १.०२ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १८९.२८ रुपैयाँ रहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.