पेट्रोल भएनभएको थाहा पाउन ४ किलोमिटर गहिराइसम्म ‘ड्रिलिङ’, ७९ प्रतिशत काम सकियो

  २०८१ कार्तिक २९ गते ९:३५     विकासन्युज

दैलेख । जिल्लाको भैरवी गाउँपालिका-१ जलजले क्षेत्रमा पेट्रोलियम पदार्थको अन्वेषणअन्तर्गत ‘ड्रिलिङ’को ७९ प्रतिशत काम सकिएको छ ।

चार हजार मिटर गहिराइसम्म ‘ड्रिलिङ’ गर्नुपर्नेमा हालसम्म ७९ प्रतिशत ‘ड्रिलिङ’को काम सकिएको खानी तथा भूगर्भ विभागअन्तर्गतको पेट्रोलियम परियोजना महाशाखा प्रमुख गणेशनाथ त्रिपाठीले बताए ।

चार हजार मिटर गहिराइसम्म ड्रिलिङ भएपछिमात्र पेट्रोलियम पदार्थ भएनभएको पत्ता लाग्ने छ । चीन सरकारको दुई अर्ब ५० करोड रुपैयाँ अनुदानमा पेट्रोलियम पदार्थको अन्वेषण जारी छ । महाशाखा, चाइना जियोलोजिकल सर्भे तथा सिबु ड्रिलिङ इन्जिनियरिङ कम्पनीले ‘ड्रिलिङ’ जारी राखेका हुन् ।

यसैबीच, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आयोजनास्थल आएर पेट्रोलियम अन्वेषणमा भएको प्रगतिबारे जानकारी लिएका छन् ।

चीनको सरकारी निकाय चाइना जिओलोजिकल सर्वेले भौगर्भिक अध्ययन सम्पन्न गरेपछि चीनकै सीएनपीसी सीबु ड्रिलिङ इन्जिनियरिङ कम्पनीले दुई देशबीचको सम्झौता अनुसार सो ड्रिलिङ अघि बढाएको हो ।

दैलेखसहित नेपालको तराई र सिवालिक क्षेत्रमा १० वटा सम्भावित पेट्रोलियम उत्खनन गर्न सकिने ब्लक निर्धारण गरिएको छ जसको क्षेत्रफल प्रतिब्लक करिब ५ हजार वर्ग किलोमिटर रहेको विवरण आएका छन् ।

अध्ययनहरूले पेट्रोलियम हुनसक्ने ठाउँ ३ देखि ४ किलोमिटर भित्र हुन सक्ने देखाएका छन्। ड्रिलिङ गर्ने क्रममा त्योभन्दा केही तल वा माथि पनि त्यो फेला पर्न सक्ने अध्ययनबाट देखिएकाे छ । अहिलेको अन्तिम चरणको अन्वेषणमा ४ किलोमिटर ड्रिलिङ गर्ने लक्ष्य राखिएको छ।

दैलेखमा देखिएका पेट्रोलियम पदार्थका अवशेषहरूको सन् १९६० को दशकमा प्रारम्भिक विश्लेषण गरिएको थियो भने विस्तृत जिओकेमिकल अध्ययन सन् १९९३ मा गरिएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.