२०८१ कार्तिक ३० गते १३:३३ लक्ष्मण लम्साल
काठमाडौं । कार्तिक २१ गते सुनको मूल्य १ लाख ६८ हजार ५ सय रुपैयाँ थियो । त्यसको एक सातापछि अर्थात् कात्तिक ३० गते सुनको मूल्य प्रतितोला १ लाख ६० हजार १ सय रुपैयाँ छ । कात्तिक २१ गते २६७५.५१ बिन्दुमा रहेको सेयर बजार कात्तिक २९ गते अर्थात् बिहीबार २७४८.७८ बिन्दुमा पुगेको छ ।
यो एक साताको अवधिमा सुनको मूल्य करिब ५ प्रतिशतले घटेको छ भने सेयर बजार २.७३ प्रतिशतले बढेको छ । एक साताको अवधिमा सेयर बजार तीन दिन बढेको छ भने दुई दिन घटेको छ । सुन भने निरन्तर घटिरहेको छ ।
पछिल्लो दुई सातामा भने सुनको मूल्य ६ प्रतिशतले घटेको छ । १५ दिनअघि १० करोड रुपैयाँको सुन खरिद गर्ने लगानीकर्ताले ६० लाख रुपैयाँ गुमाएको छ भने एक साताअघि १० करोडको सेयर खरिद गरेको लगानीकर्ताले २० लाख रुपैयाँ नाफा गरेको छ ।
यो सुन र सेयर खरिद गर्ने लगानीकर्ताले कमाएको र गुमाएको हिसाबकिताब हो । दुई साताअघि मात्रै सुन खरिद गरेर मनग्य आम्दानी गरिरहेका लगानीकर्ता अहिले पुर्पुरोमा हात लगाउन विवश छन् । सेयर बजारमा बढ्दो ट्रेण्ड देखिएको छ । त्यसैले पनि धेरै लगानीकर्ताले अब सुनको ठाउँमा सेयर बजारलाई लगानीको विकल्प बनाएको हुन् कि भन्ने अनुमान पनि गर्न थालिएको छ ।
बजार पुँजीकरणको हिसाबले भने पछिल्लो दुई सातामा सेयर बजार १ सय १६ अंकले बढेको छ । १७ दिनमा लगानीकर्ताले १ खर्ब ८९ अर्ब ५४ लाख रुपैयाँ कमाएका छन् । कार्तिक ११ गते बजार पुँजीकरण ४१ खर्ब ६५ अर्ब १३ लाख रुपैयाँ थियो । १५ दिनपछि कात्तिक २८ गते सेयर बजार पुँजीकरण ४३ खर्ब ५४ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ ।
किन घट्दैछ सुनको मूल्य ?
पछिल्लो समय सुनको मूल्य निरन्तर घट्दा अझै घट्न सक्ने अनुमान लगानीकर्ताको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटिरहेको छ । विशेषगरी अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको आगमनपछि सुनको मुल्य ओरालो यात्रामा छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मणिरत्न शाक्यका अनुसार अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्पले जितेका कारणले नै सुनको मूल्य निरन्तर घटिरहेको हो ।
उनले अन्तर्राष्ट्रिय घटनाक्रमले सुनको मूल्य घटबढ हुने भएकोले ट्रम्पको जितले सुनको मूल्य घटेको दाबी गरे । राष्ट्रपति ट्रम्पले मध्यपूर्वलगायत विभिन्न देशमा जारी युद्धलाई समाधान गर्ने नीति लिएका कारण सुनको भाउ घटेको उनको बुझाइ छ ।
व्यवसायी पृष्ठभूमिका व्यक्ति सरकारको नेतृत्वमा आएपछि लगानीकर्ता सेयर बजारमा लगानी गर्न उत्साहित भएको र सेयर बजार बढ्दा सुनको बजार घटेको हुन सक्ने उनको भनाइ छ । अहिले अमेरिकामा पनि सेयर बजार निरन्तर बढिरहेको छ । अमेरिकाका सेयर लगानीकर्ता उत्साहित भएका छन् ।
ट्रम्पले चुनाव जितेपछि अमेरिकाका लगानीकर्ता सुनभन्दा सेयर बजारमा आकर्षित भएको निवर्तमान अध्यक्ष शाक्यको दाबी छ । त्यहाँ सुनमा लगानी गर्ने लगानीकर्ता सुन बेचेर सेयरमा लगानी गर्न थालेको उनको अनुमान छ ।
‘ट्रम्पको जितपछि त्यहाँ सुनमा लगानी गरेको लगानीकर्ता पनि सेयर बजारतिर मोडिएको जस्तो देखिन्छ, जसले गर्दा पनि सुनको भाउ घट्ने र अमेरिकाको सेयरको मूल्य बढिरहेको छ, नेपालमा पनि ठ्याक्कै त्यस्तै भएको छ,’ उनले भने ।
नेपालमा पनि सुनमा लगानी गर्ने लगानीकर्ता सेयरमा फर्किएका हुन् ? भन्ने जिज्ञासामा उनले भने, ‘नेपालमा सुनको र सेयरको खासै सम्बन्ध छैन । तर, विदेशमा यसको सम्बन्ध हुन्छ । अहिले परिदृश्य हेर्दा त्यो अनुमान पनि लगाउन सकिन्छ ।’
पछिल्लो समय सुनको मूल्य घटे पनि किनबेच भने सुस्त नै रहेको निवर्तमान अध्यक्ष शाक्यको भनाइ छ । अहिले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सुनको मूल्य अझै घट्न सक्ने विश्लेषण राखिरहेका छन् । डलरको मूल्य बढिरहेको बेला र लगानीकर्ताले सेयर बजारमा पनि लगानी केन्द्रित गरिरहँदा अझै पनि सुनको मागमा कमी आउने र मूल्य पनि घट्ने अनुमान विश्लेषकहरूले गरिरहेका छन् ।
अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ताहरूले सुरक्षित विकल्पको रूपमा डलर र बन्डमा लगानी बढाइरहेका छन् । यसले गर्दा सुनको बजार सुस्त हुन सक्ने विश्लेषण गरिन थालिएको छ ।
यस कारण बढिरहेको छ सेयर
सुनको बजार घटिरहँदा सेयर बजार भने अहिले उकालो यात्रामा छ । सेयर लगानीकर्ता तथा विश्लेषक छोटेलाल रौनियारले दशैं तिहारकोको बीचमा विगतमा सेयर बजार सुस्ताउने गरेको भएपनि यस पटक भने बढेको धारणा राख्छन् ।
उनका अनुसार बैंकमा अत्यधिक तरलता, घट्दो ब्याजदर, सेयरलाई प्राथमिकता दिने सरकारी नीति लगायत कारणले अहिले सेयर बजार बढिरहेको हो ।
उनले पनि सेयर र सुनको सम्बन्ध भने खासै नभएको तर्क राखे ।
नेपाल राष्ट्र बैंकले मंसिरको पहिलो साता मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्ने तयारी थालेको छ । सो समीक्षामार्फत् सेयर बजारमैत्री नीति आउनेमा लगानीकर्ता आशावादी छन् । त्यसकारण पनि बजार बढेको हुन सक्ने भनाइ उनको छ ।
विश्लेषक राैनियारका अनुसार अहिले प्रधानमन्त्री, अर्थमन्त्री र गभर्नरबीच राम्रो सम्बन्ध रहेकोले मौद्रिक नीतिको समीक्षा पनि सहज किसिमको आउन सक्ने अनुमानले सेयर बजार बढेको हो ।
उनले लघु वित्त वित्तीय संस्थालाई लगाइएको १५ प्रतिशत लाभांशको सीमा हटाउने, सेयर धितो कर्जाको जोखिम भार १०० प्रतिशत कायम गर्ने, व्यक्तिगत लगानीकर्तालाई लगाइएको १५ करोड रुपैयाँको कर्जाको सीमा हटाउने र बैंकहरूले सेयर किनेपछि एक वर्षसम्म सो सेयर बिक्री गर्न नपाउने नियम हटाउन सकेमा सेयर बजार अझै बढ्न सक्ने विश्वास व्यक्त गरे ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.