२०८१ कार्तिक ३० गते ६:३६ विकासन्युज
काठमाडौं । बिक्रम सम्वत् १९९४ साल कात्तिक ३० गते स्थापना भएको नेपालको पहिलो बैंक नेपाल बैंक ८७ वर्ष पूरा गरी ८८औँ वर्षमा प्रवेश गरेको छ । सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा १० जना लगानीकर्ताहरूले ८ लाख ४२ हजार रुपैयाँ चुक्ता पुँजी, निक्षेप १७ लाख र १९ लाख लगानीमा बैंक स्थापना भएको थियो ।
आजभन्दा ८७ वर्षभन्दा पहिला थोरै मान्छेले मात्रै बैंक शब्द सुनेका बेलामा प्रभुत्व वर्गबाट नेपाल बैंक स्थापना भएको हो । र, २० वर्ष केन्द्रीय बैंकको भूमिका समेत यस बैंकले निर्वाह गरेको छ । वि.सं २००२ सालमा नेपाल सरकारले पहिलोपटक नोट निष्काशन गर्दा नेपाल बैंकले भूमिका निर्वाह गरेको थियो ।
नेपाल र नेपालीलाई बैंक के हो ? कसरी निक्षेप राख्ने ? कर्जा कसरी लिने ? रेमिट्यान्स कसरी भुक्तानी गर्ने ? लगायत बैंकका सामान्य कखरा सिकाउने नेपाल बैंक जननी हो ।
अहिले बैंकको चुक्ता पुँजी १४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ र जगेडा कोष २४ अर्ब रुपैयाँ बढी छ । बैंकको नेटवर्थ साढे ३७ अर्ब भन्दा बढी छ । पछिल्लो तथ्याङ्क अनुसार बैंकले २ खर्ब ९० अर्ब रुपैयाँ निक्षेप संकलन गरेर २ खर्ब १५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।
२७ सयको हाराहारीमा स्थायी र करार कर्मचारी छन् । केही सहयोगी कर्मचारी र आउटसोर्सिङ गरी कुल ३६ सय कर्मचारी बैंकमा कार्यरत छन् । बैंकले ६.८६ प्रतिशत आधार दरमा कर्जा उपलब्ध गराइरहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.