२०८१ कार्तिक ३० गते १४:२६ विकासन्युज
काठमाडाैं । चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो त्रैमास (साउन, भदौ र असोज) मा जीवन बीमा कम्पनीहरूले करिब २ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छ । नेपालमा सञ्चालनमा रहेको १४ जीवन बीमा कम्पनीहरूले पहिलो त्रैमासमा १ अर्ब ९२ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् ।
यो नाफा गत आव २०८०/०८१ को सोही अवधिको तुलनामा १८.६४ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा जीवन बीमाको खुद नाफा १ अर्ब ६२ करोड १३ लाख रुपैयाँ थियो ।
यो अवधिमा सबैभन्दा धेरै नाफा हिमालय लाइफले आर्जन गरेको छ । हिमालयन लाइफले २५ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गर्दा नेपाल लाइफले २० करोड ५४ लाख र रिलायबल लाइफले १९ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
नाफा वृद्धि गर्नेमा सिटिजन लाइफ अग्रस्थानमा रहेको छ । सिटिजनले गत आवको सोही अवधिको तुलनामा ८३.३३ प्रतिशतले नाफा वृद्धि गरेको छ । चालु आवको पहिलो त्रैमासमा कम्पनीले १३ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ७ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यसैगरी, रिलायबल लाइफ इन्स्योरेन्सको खुद नाफा ६६.९१ प्रतिशतले वृद्धि भएको छ भने एशियन लाइफलको खुद नाफा ४२.१९ र लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपालको खुद नाफा ३५.६२ प्रतिशतले वृद्धि भएको छ ।
सरकारी स्वामित्व रहेको राष्ट्रिय जीवन बीम कम्पनीको खुद नाफा ९४.१७ प्रतिशतले घटेको छ । गत आवको पहिलो त्रैमासमा ३ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनी चालु आवको पहिलो त्रैमासमा २२ लाख रुपैयाँमा सीमित भएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.