विगतमा लगाइएका नियन्त्रणमुखी नीतिहरू अहिलेको सरकारले पनि परिवर्तन गरेन : अध्यक्ष अग्रवाल

  २०८१ कार्तिक ३० गते १५:१७     विकासन्युज

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले मुलुकको आर्थिक सुधार वर्तमान सरकारको प्राथमिकतामा अहिलेसम्म पर्न नसकेको गुनासो गरेका छन् ।

औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको २८ औं वार्षिकात्सव कार्यक्रममा बोल्दै अध्यक्ष अग्रवालले वर्तमान सरकार र अर्थमन्त्रीप्रति निजी क्षेत्रको ठूलो आशा भएपनि आशा गरे जस्तो काम हुन नसकेको गुनासो गरेका हुन् ।

उनले सरकारले शिथिल र मन्दीबाट माथि उठाउने धेरै प्रतिवद्धता आएपनि अर्थतन्त्रलाई सुधार गर्नेको लागि प्राथमिकतामा पर्न नसकेको बताए ।

अध्यक्ष अग्रवालले विगतमा लगाएका नियन्त्रणमुखी नीतिहरू अहिले पनि सरकारले परिवर्तन गर्न नसकेकोमा गुनासाे गरे ।

उनले अर्थतन्त्रमा देखिएका अप्ठ्याराहरू सरकारको नीतिगत कारणले देखिएको दाबी गरे ।

उनले आर्थिक सुस्तता र मन्दीको अवस्थाबाट छिटो उन्मुक्ति पाएकाे खण्डमा मात्रै समग्र अर्थतन्त्रका स्टार्टअप र औधोगिक क्षेत्र सुधार हुनेमा जाेड दिए ।

अध्यक्ष अग्रवालले भने, ‘वर्तमान सरकार आएपछि मुलुकको आर्थिक सुधार हुने आशा पलाएको थियो । सरकारको प्रतिवद्धता धेरै आयो । तर आर्थिक सुधार सरकारको प्राथमिकतामा पर्न सकेको छैन । आर्थिक सुस्तता र मन्दीको अवस्थाबाट छिटो उन्मुक्ति पायौं भने मात्रै समग्र अर्थतन्त्रका स्टार्टअप र औधोगिक क्षेत्र सुधार हुन्छ ।’

उनले केही समय अघि उच्च रूपमा बैंकको ब्याजदर वृद्धि हुँदा व्यवसायीहरूले ऋण तिर्न नसक्दा धेरै उद्योगी व्यवसायीहरू बैंकको कालोसूचीमा परेको बताए ।

उनले नेपालमा पछिल्लो ३० वर्षमा १ लाख १० हजार र पछिल्लो दुई वर्षमा ७५ हजार बढी कालोसूचीमा परेको बताए ।

अध्यक्ष अग्रवालले निजी क्षेत्रको मनोबल कमजोर हुँदा पनि अर्थतन्त्रमा शिथिलता आएको पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.