गौतमबुद्ध विमानस्थल दीर्घकालीन रूपमा सञ्चालन गर्नुपर्ने

  २०८१ मंसिर १ गते १८:५८     विकासन्युज

काठमाडौं । लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि दीर्घकालीन योजना बनाउनुपर्नेमा जोड दिइएको छ ।

ट्राभल व्यवसायीको साझा संस्था नेपाल एशोसियन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) ले लुम्बिनी प्रदेशको बुटवलमा शनिबार आयोजना गरेको १५औँ वार्षिक साधारणसभा तथा अधिवेशनको उद्घाटन कार्यक्रमका वक्ताहरूले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि पर्यटन व्यवसायीले ऐक्यबद्धतासमेत जनाएका छन् ।

लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लिला गिरीले राजनीतिक अस्थिरताका कारणले नै मुलुकका हरेक क्षेत्रमा प्रभाव पारेको बताए । राजनीतिक अस्थिरताले विकास र समृद्धिका योजना ओझेलमा परेको बताउँदै वर्तमान सरकारको ईच्छाशक्तिकै कारण गौतमबुद्ध विमानस्थल सञ्चालनको अवस्थामा पुगेको उनको भनाइ छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले पर्यटकीय गन्तव्यको व्यवसाय प्रवर्द्धनका लागि यात्रुलाई विभिन्न सुविधाका प्याकेज बनाएर दिनुपर्ने बताए । हवाइ सेवामा पहिलो प्राथमिकता यात्रुको सुरक्षा हुने भएकाले गौतमबुद्ध विमानस्थलको अधिकतम सुरक्षाका लागि ‘आइएलएस लोयर भिजिविलिटी’ परीक्षण गर्न एयरलाइन्सलाई अनुरोध गरिएको जानकारी दिए ।

नाट्टा गण्डकीका अध्यक्ष किशोर दाहालले गण्डकी प्रदेशका सबै पर्यटन व्यवसायीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा सहयोग गर्ने बताए । गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित भएमा लुम्बिनी प्रदेश मात्रै नभएर सिङ्गो देशलाई फाइदा पुग्ने उनको भनाइ छ

सुदुरपश्चिमका अध्यक्ष पदम विक्रम सिंहले सुदुरपश्चिम र कर्णालीको लागि भैरहवा सबैभन्दा पायक पर्ने बताए । नाट्टा लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष सागर अधिकारीले गौतम बुद्ध विमानस्थल भइरहेको उडानलाई नियमित गराउन पर्ने बताए ।

नाटा लुम्बिनी प्रदेशका अध्यक्ष रचना पन्तले वर्तमान समयमा विमानस्थलको सञ्चालनले नयाँ आशा जगाएको बताउँदै यस अवसरलाई सकारात्मक ढङ्गले लिएर अघि बढ्नुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.