२४ जिल्लाका ३ हजार १९१ विद्यार्थीलाई विद्युतीय चुल्हो वितरण

  २०८१ मंसिर २ गते १८:३४     विकासन्युज

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत रहेको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले दुर्गम र अतिदुर्गम क्षेत्रबाट काठमाडौँ आएर बसोबास गरिहेका तीन हजार एक सय ९१ विद्यार्थीलाई विद्युतीय चुल्हो वितरण गरेको छ ।

केन्द्रले नेपालका दुर्गम र अति दुर्गम क्षेत्रबाट काठमाडौंमा आई डेरा गरी बस्ने स्नातक वा सोभन्दा माथिल्लो तहमा अध्ययनरत विद्यार्थीलाई विद्युतीय चुल्हो वितरण गरेको हो ।

विद्युतीय चुल्हो वितरण कार्यक्रमको आइतबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले शुभारम्भ गरे ।

कार्यक्रममा मन्त्री खड्काले यस अभियानले नवीकरणीय ऊर्जा प्रवद्र्धन र विस्तारमा सहयोग पुग्ने बताए । उनले विद्युतीय चुल्हो वितरणले दूरदराजबाट काठमाडौंमा अध्ययन गर्न आउने विद्यार्थीलाई सहुलियत प्रदान गर्नाका साथै खनिज इन्धनको प्रयोग न्यूनीकरण गरी विद्युत्को आन्तरिक खपत वृद्धि गर्नमा सघाउ पुग्ने उल्लेख गरे ।

‘खाना पकाउने स्वच्छ ऊर्जाको प्रयोगबाट वातावरण संरक्षणमा टेवा पुग्नाका साथै नेपाल सरकारको राष्ट्रिय लक्ष्य एवम् जलवायु परिवर्तन न्यूनीकरणका लागि गरिएको अन्तर्राष्ट्रिय प्रतिबद्धता हासिल गर्न सघाउ पुग्नेछ,’ मन्त्री खड्काले भने ।

आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिन उनले केन्द्रलाई निर्देशन दिए ।

ऊर्जामन्त्री खड्काले नेपालले ऊर्जा क्षेत्रमा निरन्तर रूपमा महत्त्वपूर्ण फड्को मारिरहेको र हाल अन्तर्राष्ट्रिय बजारमा समेत विद्युत् निर्यात गर्न सफल भएको बताउँदै आगामी १० वर्षभित्र २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको स्पष्ट पारे ।

केन्द्रले हालसम्म विभिन्न नवीकरणीय ऊर्जा प्रविधिको अतिरिक्त ६० हजारभन्दा बढी सङ्ख्यामा विद्युतीय चुलो प्रवर्द्धन गरिसकेको छभने आगामी दिनमा विद्युतीय चुलो प्रवर्द्धन क्रियाकलापलाई बढाउँदै लैजाने लक्ष्य लिएको छ । आजदेखि सुरु भएको अभियान आगामी १० दिनसम्म चल्ने केन्द्रले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Image-1
Image-2
Image-3
Image-4