सेयर लगानीकर्ता घरजग्गामा पसेपछि कारोबारमा सुधार, अब चलायमान हुने अपेक्षा

  २०८१ मंसिर ३ गते १४:२५     लक्ष्मण लम्साल

काठमाडौं । कार्तिक महिनामा घरजग्गाको कारोबार बढेसँगै त्यसबाट संकलन हुने राजस्व पनि वृद्धि भएको छ । २०८१ कार्तिक महिनामा घरजग्गासम्बन्धी ९७ हजार १ सय ९६ वटा कारोबार भएका छन् । जसमध्ये ३३ हजार ५ सय ११ वटा लिखत पारित भएको छ ।

गत वर्षको कार्तिक महिनामा घरजग्गासम्बन्धी ७७ हजार १८५ वटा कारोबार हुँदा २६ हजार ४६ वटा लिखत पारित भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।

गत वर्षको सोही अवधिको भन्दा यस वर्षको कार्तिक महिनामा जग्गाको कित्ताकाट पनि वृद्धि भएको छ । कार्तिक महिनामा देशभर ३३ हजार ४२२ वटा कित्ता कित्ताकाट भएर ७३ हजार ६८ वटा कित्ता कायम गरिएको छ । गत वर्ष ३० हजार ३८७ वटा कित्ता कित्ताकाट गरेर ७० हजार ११६ वटा कित्तामा विभाजित गरिएको थियो ।

यसरी घरजग्गाको कित्ताकाट र कारोबार बढेसँगै त्यसबाट संकलन हुने राजस्वमा पनि वृद्धि भएको विभागको तथ्यांकले देखाउँछ । विभागका अनुसार घरजग्गाको कारोबारबाट २०८० कार्तिक महिनामा २ अर्ब ७० करोड ४० लाख रुपैयाँ राजस्व संकलन भएको छ । जुन गत वर्षको कार्तिक महिनाको तुलनामा २४.९६ प्रतिशत बढी हो । गत वर्षको कार्तिक महिनामा घरजग्गाको कारोबारबाट २ अर्ब १६ करोड ३८ लाख रुपैयाँ राजस्व संकलन भएको थियो ।

सेयर बजारका लगानीकर्ता घरजग्गा कारोबारतर्फ सोझिएपछि घरजग्गाको कारोबार वृद्धि भएको व्यवसायीहरूको भनाइ छ । सेयर बजारमा करेक्सन आएपछि त्यस क्षेत्रमा लगानी गर्ने लगानीकर्ताले घरजग्गामा लगानी गर्न थालेपछि कारोबार वृद्धि भएको नेपाल जग्गा तथा आवास विकास महासंघका महासचिव विष्णुप्रसाद घिमिरेले बताए ।

उनले भने, ‘पछिल्लो समय सेयर बजार घट्न थालेको थियो । लागनीकर्ताले सेयरको रकमले घरजग्गामा लगानी गर्न थालेपछि घरजग्गाको कारोबार वृद्धि भएको हो ।’

महासचिव घिमिरेका अनुसार पछिल्लो १५ दिन अर्थात तिहारपछि घरजग्गाको कारोबार वृद्धि भएको हो । तिहारपछि देशभर नै कारोबार वृद्धि भएको उनको भनाइ छ । आगामी दिनमा घरजग्गाको कारोबार निरन्तर बढ्दै जाने उनको दाबी छ । घरजग्गाको कारोबारलाई अझै प्रभावकारी बनाउन सरकारले पनि यस क्षेत्रलाई ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

नेपाल राष्ट्र बैंकले यस क्षेत्रमा केही खुकुलो नीति लिएको खण्डमा कारोबार पनि बढ्ने र त्यसबाट सरकारलाई प्राप्त हुने राजस्व पनि बढ्ने उनको बुझाइ छ ।

सरकारलाई राजस्व चाहिने तर राजस्व वृद्धि गर्न यस क्षेत्रमा गर्नुपर्ने सुधारात्मक कामहरूमा ध्यान नदिएको गुनासो महासचिव घिमिरेको छ । नेपाल राष्ट्र बैंकले मासिक किस्तामा वैध आम्दानीको ७० प्रतिशतवाला व्यवस्थालाई सच्याउनु पर्ने उनले बताए  ।

यसैगरी, घरजग्गा खरिद गर्ने जनताले बैंकलाई तिर्ने मासिक किस्ता वैध आम्दानीको ७० प्रतिशत हुनुपर्ने व्यवस्था रहेको बताउँदै उनले यसलाई बढाउनुपर्नेमा जोड दिए । यस्तै, अढाई करोड रुपैयाँसम्मको घर किन्न सरकारले सहुलियत गरिदिएको भएपनि त्यो प्रभावकारी नभएको उनको भनाइ छ ।

सरकारले एकातिर भन्ने अनि अर्कोतिर व्यवस्थाले कस्ने नीति ल्याएकाले प्रभावकारी हुन नसकेको महासचिव घिमिरेले बताए  । उनले हिसाब गर्दै भने, ‘मानौं अढाई करोडको घर किन्दा एक करोड आफै लगानी गरेर बाँकी डेढ करोड बैंकबाट लगानी कर्जा लिइयो ।डेढ करोडको किस्ता मासिक रूपमा कम्तिमा पनि ३ लाख बढी तिर्नु पर्छ । ३ लाख किस्ता तिर्न मासिक ४ लाख ५० हजारभन्दा बढी वैध आम्दानी हुनु पर्छ ।’

सरकारको यस नीतिअनुसार एउटा सचिवले घरजग्गा किन्न नसक्ने अवस्था छ । सचिवको वैध तलब ७० हजार रुपैयाँको हाराहारी छ । उसले एक करोडको कर्जा लिएको खण्डमा २ लाख रुपैयाँको हाराहारीमा मासिक किस्ता भुक्तानी गर्नुपर्छ । त्यसको लागि उसको वैध तलब ३ लाख हुनु पर्दछ । राष्ट्र बैंकले यस व्यवस्थालाई मात्र सच्याए पनि घरजग्गाको कारोबार ह्वात्तै बढ्ने महासचिव घिमिरेको दाबी छ ।

यस्तै, महासंघले घरजग्गा व्यवसाय सुधारका लागि सरकारले सुधार्नुपर्ने  विषयहरू समेटेर नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई ज्ञापनपत्र पनि बुझाएको थियो । महासंघले अफ्ना विभिन्न ६ मागसहितको पत्र गभर्नरलाई बुझाएको हो ।

यस्ता छन् माग

(१) अनुमति प्राप्त रियल स्टेट कम्पनीलाई प्रवाह हुँदै आएको कर्जामा कर्जा र धितोको अनुपात ८० प्रतिशत कायम गर्नुपर्ने ।

(२) कर्जा र आम्दानीको अनुपात ८० प्रतिशत गर्नुपर्ने ।

(३) रियल इस्टेट व्यवसाय गर्ने कम्पनीहरुलाई प्रदान गरिने कर्जाको जोखिम भार १०० प्रतिशत कायम गर्नुपर्ने ।

(४) रियल स्टेट कर्जाको पुनर्तालिकीकरण / पुनर्संरचना गर्नुपर्ने ।

(५) अर्थतन्त्र चलायमान नभएको वर्तमान परिप्रेक्ष्यमा कर्जाको प्रिमियम घटाउनुपर्ने ।

(६) रियल इस्टेट कर्जालाई वर्किङ क्यापिटल गाइडलाइन लागू नगर्नका लागि स्पष्ट निर्देशन दिनुपर्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.