२०८१ मंसिर ३ गते १३:३५ विकासन्युज
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अतिकम विकसित मुलुक (एलडीसी)बाट नेपाल विकासशील मुलुकमा रूपान्तरण हुँदा स्टार्टअप उद्यमको विकास गर्नु अपरिहार्य रहेको बताएका छन् ।
सोमबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको एफएनसीसीआई इनोभेसन संवाद कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।
मुलुक अतिकम विकसित मुलुक (एलडीसी)बाट नेपाल विकासशील मुलुकमा रूपान्तरण हुँदा विश्व प्रतिष्पर्धामा आउन नयाँ नयांँ नविनतम सोचका साना, मझौला उद्यम र स्टार्टअपको विकास गर्नु अपरिहार्य उनको भनाइ छ ।
अध्यक्ष ढकालले अहिले सञ्चालित उद्योग व्यवसायहरूलाई पनि नयाँ सोचबाट अघि बढाउनुपर्ने आवश्यकता भएको बताए । नयाँ सोचका साथ व्यवसाय बिस्तार गर्नसक्दा मात्रै अर्थतन्त्रको विकासमा नयाँ अवसरहरू सिर्जना हुने र नवप्रवर्तनले लागत घटाउने तथा उद्यमीहरूको लागि आत्मनिर्भर बन्ने माध्यम हुने विश्वास रहेको जानकारी दिए ।
उनले महासंघले इनोभेटिभ स्टार्टअपको विकास एवं प्रवर्द्धनमा सघाउ पुर्याउन ‘स्टार्टअप एण्ड इनोभेसन फोरम’ गठन गरेको बताए । लघु घरेलु तथा साना उद्यम समितिले यस क्षेत्रको बिस्तारका लागि काम गरिरहेको अध्यक्ष ढकालको भनाइ छ । निर्यात प्रवर्द्धन समितिले बाहिरको बजार खोज्ने प्रयास गरेको उनले बताए ।
‘विकासउन्मुख देशमा स्तरउन्नति भएको परिवेशमा विश्व प्रतिष्पर्धामा आउन नयाँ नयाँ इनोभसन सोचका साना, मझौला उद्यम र स्टार्टअपको विकास गर्नु अपरिहार्य भएको छ । साथै सञ्चालित उद्योग व्यवसायहरुलाई पनि नयाँ सोचबाट अघि बढाउनुपर्ने आवश्यकता भएको छ,’ अध्यक्ष ढकालले भने ।
उनले देशभित्र आर्थिक क्रियाकलाप बढाउन कर प्रणालीलाई सरल र व्यवसायमैत्री बनाउनुपर्ने, करका प्रक्रियाहरूमा पारदर्शी बनाई कम दरमा कर उपलब्ध गराउन सक्नुपर्ने बताए । उनले आयात–निर्यात प्रक्रियालाई सरल बनाउँदै अनधिकृत आयात रोक्न जरुरी रहेको पनि उल्लेख गरे ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.