२०८१ मंसिर ३ गते १५:५५ विकासन्युज
काठमाडौं । अबुधाबीको शाही परिवारसँग सम्बन्धित कम्पनीहरूमा आएको उछालका कारण संयुक्त अरब इमिरेट्स (युएई) को सेयर बजारको कुल मूल्य १ ट्रिलियन अमेरिकी डलर नाघेको छ । शेख तहनून बिन जायद अल नाह्यानसँग सम्बन्धित कम्पनीहरूको यो बूममा ठूलो भूमिका रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । युएईको सेयर बजारको संयुक्त मूल्यांकन १ ट्रिलियन डलर नाघेको यो पहिलो पटक हो । यसमा दुबई र अबुधाबीको एक्सचेन्ज समावेश छन् ।
ब्लूमबर्गका अनुसार यो आँकडाले युएईको सेयर बजारलाई मिलान तथा म्याड्रिडको भन्दा ठूलो बनाउँछ । तर, यो साउदी अरबको करिब ३ ट्रिलियन डलरको स्टक मार्केटभन्दा सानो छ ।
शेख तहनून बिनको चमत्कार
यस उपलब्धिमा शेख तहनून बिन जायद अल नाह्यानसँग सम्बन्धित कम्पनीहरूको योगदान महत्त्वपूर्ण रहेकाे जनाइएकाे छ । अबुधाबीका दुई डिप्टी रुलर्समध्येका एक युएईका राष्ट्रिय सुरक्षा सल्लाहकार र राष्ट्रपतिका भाइ शेख तहनून १.५ ट्रिलियन डलरको साम्राज्यका साथ विश्वको सबैभन्दा शक्तिशाली व्यवसायीहरूमध्ये एकको रूपमा उभिएका छन् ।
यस साम्राज्यमा इन्टरनेशनल होल्डिङ कम्पनी (आईएचसी) पनि समावेश छ, जसका अध्यक्ष शेख तहनूर हुन् । पछिल्ला केही वर्षहरूमा आईएचसी सेयर ४३ हजार प्रतिशतभन्दा धेरैले बढेको छ । यसको बजार पुँजीकरण लगभग २५० बिलियन डलर पुगेको छ, जुन संयुक्त एक्सचेन्जको कुल मूल्यको एक चौथाई हो ।
आइएचसीले के गर्छ ?
अबुधाबी स्टक एक्सचेन्जको तथ्यांकअनुसार आईएचसीमा ८८ प्रतिशत सेयर स्थानीयको रहेको छ । आइएचसी, जसले पहिले माछापालन व्यवसाय गर्थ्यो अब यूएईको अर्थतन्त्रलाई तेलको निर्भरताबाट टाढा राख्ने प्रयासमा सबैभन्दा अगाडि छ ।
कम्पनी र यसका सहायक कम्पनीले धेरै व्यवसायमा लगानी गरेका छन् । यसमा रिहानाको लान्जरी लाइन, एलन मस्कको स्पेसएक्स र इमिरेट्सको सबैभन्दा ठूलो प्रोपटी डेभलपर पीजेएससी सामेल छ ।
शेख तहनून फर्स्ट अबुधाबी बैंक पीजेएससीका अध्यक्ष पनि हुन् । यसले सन् २०२३ मा बेलायतको स्ट्यान्डर्ड चार्टर्ड पीएलसीका लागि बिडिङ गर्ने विचार गरेको थियो । अबुधाबीको बेन्चमार्क एफटीएसई एडीएक्स जनरल इन्डेक्समा बैंक र आईएचसीको संयुक्त भार ५० प्रतिशतभन्दा बढी छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.