२०८१ मंसिर ३ गते १८:२१ विकासन्युज
काठमाडाैं । बीमा कम्पनीहरूले बाढीपहिरोका कारण धनसम्पत्तिमा क्षति भएका बीमितको दाबी भुक्तानीमा आलटाल गरेको देखिएको छ । बाढी पहिरोबाट ठूलो क्षति बेहोरेका बीमितले बीमा रकम दाबी गरेको लामो समय भइसक्दा पनि भुक्तानी गरेका छैनन् ।
बाढी पहिरोबाट क्षति बेहोरेका बीमितले हालसम्म पौने १२ अर्ब बीमा रकम दाबी गरेका छन् । तर, त्यसको ५ प्रतिशत अर्थात् ६१ करोड रुपैयाँ मात्रै कम्पनीले भुक्तानी गरेका छन् । कार्तिक २८ गतेसम्म बीमा कम्पनीहरूले ६१ करोड ७ लाख ९३ हजार रुपैयाँ दाबी भुक्तानी दिएका हुन् ।
बीमितले बाढी पहिरोबाट क्षति भएको भन्दै बीमा कम्पनीहरुमा ११ अर्ब ८२ करोड रुपैयाँको दाबी पेस गरेका छन् ।
नेपालमा सञ्चालनमा रहेका चार लघु निर्जीवनसहित १८ वटा निर्जीवन बीमा कम्पनीले उक्त दाबी भुक्तानी दिएका हुन् । जसमध्ये सबैभन्दा धेरै शिखर इन्स्योरेन्सले दाबी भुक्तानी गरेको छ । शिखर इन्स्योरेन्सले २६ करोड ६ लाख रुपैयाँ दाबी भुक्तानी दिएको छ । शिखरमा एक अर्ब ९८ लाख रुपैयाँ दाबी पेस भएको थियो ।
यसैगरी, सिद्धार्थ प्रिमियरमा २ अर्ब ६० करोड २४ लाख रुपैयाँ दाबी पेस भएको थियो । सो कम्पनीले ९ करोड ३७ लाख भुक्तानी दिएको छ । नेको इन्स्योरेन्सले ६ करोड ९० लाख रुपैयाँ दाबी भुक्तानी दिएको छ । नेकोमा ७६ करोड ३९ लाख रुपैयाँको दाबी पेश भएको थियो ।
१ अर्ब ३६ करोड दाबी पेश भएको सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ५ करोड ८२ लाख भुक्तानी गर्दा १ अर्ब ९ लाख दाबी पेश भएको हिमालयन एभरेष्टले ४ करोड ६१ लाख रुपैयाँ भुक्तानी दिएको छ । यसैगरी, आईजीआई प्रुडेन्सियलले ३ करोड ९ लाख, सानिमा जीआईसीले २ करोड ५८ लाख र नेपाल इन्स्योरेन्सले १ करोड ८ लाख रुपैयाँ दाबी भुक्तानी दिएका छन् ।
राष्ट्रिय जीवन बीमा कम्पनी र ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनीले एक रुपैयाँ पनि भुक्तानी दिएको छैन । उक्त कम्पनीहरूमा क्रमशः २० करोड ६७ लाख र १५ करोड २० लाख रुपैयाँ दाबी पेश भएको थियो ।
दाबी र भुक्तानीकाे तथ्यांक
Copyright © 2024 Bikash Media Pvt. Ltd.