बागबजारमा सुट मेला, भाग्यमानीलाई दुबई र थाइल्याण्ड घुम्ने अवसर  

  २०८१ मंसिर ४ गते १५:०५     विकासन्युज

काठमाडौं । बागबजारको आराधना कम्प्लेक्समा सुट मेला सुरु भएको छ । सुटमा आएको नयाँ डिजाइनबारे ग्राहकलाई जानकारी गराउने उद्देश्यले मेलाको आयोजना गरिएको हो ।

कोभिड- १९ पछि सुस्त भएको व्यापार र आर्थिक सुस्तताले निरासमा परेका सेवाग्राहीको उत्साह भर्ने उद्देश्यले मेलाको आयोजना गरिएको मेरिना इम्पेक्सका निर्देशक अर्जुन बस्नेतले जानकारी दिए । आराधना कम्प्लेक्स भवनका ११ पसल मिलेर मेला आयोजना गरिएको हो ।

अहिले विवाहको सिजन सुरु भएकाले दूरदराजबाट सुट सिलाउन काठमाडौं आउनेको संख्या बढेकाले उनीहरूको सहजताको लागि पनि मेलाले सहयोग पुग्ने विश्वास आयोजकले गरेको छ ।

‘विवाहको बेला अघिपछिभन्दा अलिक फरक देखिन चाहन्छन्, उनीहरूको चाहनालाई मध्यनजर गर्दै सेवा दिने कोसिस गरिरहेका छौं । यही विश्वासले सुट सिलाउनकै लागि दूरदराजका सेवाग्राही काठमाडौं आउने गरेका छन् । सेवाग्राहीले चिनेको ठाउँ भएर केही न केही गर्नुपर्छ भन्ने उद्देश्यले मेलाको आयोजना गरिएको हो,’ निर्देशक बस्नेतले भने । 

उनका अनुसार यो कम्प्लेक्समा रहेका ११ पसलले ग्राहकको मन जितिरहेका छन् । ‘विश्वास नै हाम्रो लागि सबैभन्दा ठूलो कुरा हो, ग्राहकले गरेको विश्वास र आफूहरूले सेवा दिन गरेको मिहिनेतलाई उत्साहको रूपमा भर्न मेला सञ्चालन गरिएको हो, ’ उनले भने ।

आराधना कम्प्लेक्समा रहेका मेरिना इम्पेक्स, अनुपम टेलर्स, श्रेष्ठ टेलरिङ, एक्सलेन्ट टेलर्स, एस.टी टेलर्स, सिजनल टेलर्स, टिपटप टेलर्स, रिच स्टिचिङ, मेरो टेलर्स, हिल टप,  ह्यारी कलेक्सनले सुंयुक्त रूपमा मेलाको आयोजना गरेका हुन् ।  मंसिर १ गतेदेखि सुरु भएको यो मेला आगामी वैशाख महिनासम्म सञ्चालन हुनेछ ।

जोडीलाई रमाउने अवसर 

यो मेलामा नागरिकले सुट किनमेल गर्नेदेखि सुटका डिजाइनबारे अवलोकन गर्न पाउनुका साथै लक्की ड्रमार्फत घुम्न पाउने अवसर पाउनेछन् ।

जसमा  एक जोडीलाई दुबई, अर्को एक जोडीलाई थाइल्याण्ड, १५ जोडीलाई पोखरा, १० जोडीलाई चितवनको सौराह घुम्ने अवसर दिइने छ । यस्तै, १० जोडीलाई मनकामना दर्शनका लागि पठाउने योजना छ भने अन्यलाई चन्द्रागिरि केबलकारको टिकटदेखि विभिन्न ठाउँमा घुम्न जान पाउने छन् ।

यसका लागि मंसिर १ गतेदेखि वैशाख २४ गतेसम्म जसले सुट खरिद गर्छ, उनीहरूलाई कुपन दिने र त्यो कुपनबाट लक्की ड्र गर्ने अनि छनोटमा परेकाहरूलाई यो सुविधा दिइने जनाइएकाे छ । यो अवसरले आन्तरिक पर्यटनदेखि होटेल व्यवसायीलाई पनि राहत पुग्ने विश्वास गरिएको छ ।

 मेरिना इम्पेक्सले विगतमा यस्ता कार्यक्रम गर्दै आएको भए पनि  एउटै कम्प्लेक्सका ११ वटा पसल मिलेर गरिएको यो आयोजना भने पहिलो पटक  हो ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.