२०८१ मंसिर ५ गते १३:३० विकासन्युज
काठमाडाैं । सेयर बजारमा सबैभन्दा बढी हेरिने सूचक हो प्रतिसेयर आम्दानी (ईपीएस) । ईपीएस राम्रो भएको कम्पनी वित्तीय रूपमा बलियो हुने भएकोले पनि लगानीकर्ताको रोजाइमा त्यस्तै कम्पनी पर्छ ।
प्रतिसेयर आम्दानी कम्पनीको वास्तविक नाफा विश्लेषण गर्ने महत्त्वपूर्ण सूचक हो । करपछिको नाफालाई कुल सेयर संख्याले भाग गर्दा प्रतिसेयर आम्दानी निकाल्न सकिन्छ । सेयरको संख्या बढ्दै जाँदा प्रतिसेयर आम्दानी घट्छ भने कम्पनीको नाफाको मूल्यांकन गर्दा कुल नाफा भन्दा प्रतिसेयर आम्दानी हेर्नुपर्छ । नाफा घट्दा पनि भएमा पनि कम्पनीको ईपीएसमा प्रभाव पर्छ ।
यो समाचार सामग्रीमा निर्जीवन बीमा कम्पनीको ईपीएसको विषयमा चर्चा गरिएको छ । असोज मसान्तसम्म अधिकांश निर्जीवन बीमा कम्पनीहरूको प्रतिसेयर आम्दानी (ईपीएस) घटेको छ । कम्पनीहरूले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार ७ वटा निर्जीवन बीमा कम्पनीको ईपीएस घट्दा ५ कम्पनीको ईपीएस बढ्को हाे ।
जसमध्ये सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिकाे) को ईपीएस घटेको छ । गत आर्थिक वर्षको असोज मसान्तसम्म सलिकोको ईपीएस ८.७० रुपैयाँ रहेको थियो । चालु आवको असोज मसान्तसम्म ईपीएस घटेर ऋणात्मक १३.६५ रुपैयाँमा झरेको छ । सो कम्पनीको ईपीएस गत आवको तुलनामा २५६.८९ प्रतिशतले घटेको हो ।
यूनाइटेड अजोड इन्स्योरेन्सको ईपीएस १४२.४३ प्रतिशतले घटेको छ । गत वर्षको असोज मसान्तसम्म ८.१३ रुपैयाँ रहेको कम्पनीको ईपीएस ऋणात्मक ३.४५ रुपैयाँमा झरेको छ ।
नेपाल ईन्स्योरेन्सको ईपीएस ९३.५३ प्रतिशतले घटेर २.५३ रुपैयाँमा झरेको छ भने सिद्धार्थ प्रिमियरको ईपीएस ५४.३१ प्रतिशतले घटेर ९.१२ रुपैयाँमा झरेको छ । उक्त कम्पनीको ईपीएस गत वर्षको असोज मसान्तसम्म क्रमशः ३९.१२ र १९.९६ रुपैयाँ थियो ।
ईपीएस वृद्धि गर्ने सूचीकाे अग्रस्थानमा सानिमा जीआईसी ईन्स्योरेन्स रहेको छ । सानिमा जीआईसीको ईपीएस ५०.४४ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको असोज मसान्तसम्म ६.७६ रुपैयाँ ईपीएस रहेको कम्पनीको चालु आवको असोज मसान्तसम्म १०.१७ रुपैयाँमा उक्लिएको छ ।
आईजीआई प्रुडेन्सियलको ईपीएस ६.७५ बाट ८.०६ रुपैयाँमा वृद्धि भएको छ भने राष्ट्रिय बीमा कम्पनीको ईपीएस ५१.६३ बाट ५८.७२ रुपैयाँमा उक्लिएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.