२०८१ मंसिर ६ गते ७:१६ विकासन्युज
काठमाडौं । ग्लोबल आइएमई बैंक र प्राइम बैंकको लाभांश सुरक्षित गर्ने आज मंसिर ६ गते अन्तिम रहेको छ । लाभांश तथा साधारण सभा प्रयोजनार्थ यी दुई बैंकले मंसिर ९ गते एक दिनका लागि सेयरधनी दर्ता किताब बन्द गर्ने निर्णय गरेका छन् ।
त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंसिर ६ गतेसम्म कायम सेयरधनीहरूले मात्रै साधारण सभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्नेछन् ।
ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी ३६ अर्ब १२ करोड ८७ लाख रुपैयाँको ५.५ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ । लाभांश पारित गर्न बैंकले मंसिर २७ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहान १० बजे १८औँ वार्षिक साधारण सभा बोलाएको छ ।
यस्तै, प्राइम बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट चुक्ता पुँजी १९ अर्ब ४० करोड २५ लाख रुपैयाँको करसहित ५ प्रतिशतका दरले ९७ करोड १ लाख २५ हजार ७८६ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न बैंकले मंसिर १९ गते आर्मि अफिसर्स क्लब भद्रकालीमा बिहान ११ बजे १७औँ वार्षिक साधारण सभा आह्वान गरेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.