२०८१ मंसिर ६ गते १३:१६ विकासन्युज
काठमाडौं । अडानी समूहका अध्यक्ष तथा भारतका दोस्रो धनी उद्योगपति गौतम अडानी ठूलो समस्यामा परेका छन् । अडानी र अन्य सात जनामाथि अमेरिकामा अर्बौं डलरको घुसखोरी र ठगी गरेको आरोप छ ।
इकोनोमिक टाइम्सका अनुसार यो मुद्दा अमेरिकी अदालतमा सुनुवाइ भएको थियो । अडानी र उनका भतिजाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । यस मामिलामा नाम आएपछि अडानी समूहले अमेरिकामा रहेको ६० मिलियन डलरको ऋणपत्र (बन्ड) रद्द गरेको छ ।
सौर्य ऊर्जाको ठेक्का लिन अडानी समूहले भारतीय अधिकारीहरूलाई घुस दिएको आरोप लागेको इकोनोमिक टाइम्सले जनाएकाे छ । अडानीले बुधबार हरित ऊर्जामा लगानी गर्ने घोषणा गरेको थियो । कम्पनीका अध्यक्षले अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको चुनावी जितको लागि बधाई दिएपछि यो घोषणा गरिएको हो ।
रोयटर्सको रिपोर्टमा भनिएको छ कि लगानीको घोषणा गर्दा अडानीले अमेरिकी राष्ट्रपति चुनावमा उनको चुनावी जीतको लागि डोनाल्ड ट्रम्पलाई बधाई पनि दिएका थिए । ट्रम्पले ऊर्जा कम्पनीहरूका लागि नियमहरू सरल बनाउने वाचा गरेका छन् ।
के हो अडानीको विषय ?
अमेरिकी धितोपत्र तथा विनिमय आयोगले दायर गरेको मुद्दामा गौतम अडानीमाथि अमेरिकी लगानीकर्तालाई ठगी गरेको र अधिकारीहरूलाई घूस दिएको आरोप लगाइएको छ । अडानी र अन्यमाथि गलत र भ्रामक बयान दिएर अमेरिकी लगानीकर्ता र विश्वव्यापी वित्तीय संस्थाहरूबाट रकम लिएको आरोप छ ।
अभियोगमा अडानी र अन्यले करिब २६५ मिलियन डलर घुस दिएको उल्लेख छ । यी ठेक्काबाट दुई दशकमा २ बिलियन डलर नाफा हुने उनीहरूको अनुमान थियो । अभियोजनकर्ताहरूले योजनामा संलग्न केही व्यक्तिहरूले गौतम अडानीलाई सन्दर्भ गर्न ‘न्यूमेरो यूनो’ र ‘द बिग म्यान’ जस्ता कोड नामहरू प्रयोग गरेको दाबी गर्छन् ।
अभियोगमा अडानी, उनका भतिजा सागर अडानी र अर्का कार्यकारी विनीत एस जैनले अडानी ग्रीन इनर्जीका लागि ३ अर्ब डलरभन्दा बढीको ऋण र बण्ड प्राप्त गर्न ऋणदाता र लगानीकर्ताहरूलाई घुस दिएको कुरा लुकाएका थिए ।
पक्राउ पुर्जी जारी
प्रतिवेदनमा गौतम अडानी र सागर अडानीका लागि पक्राउ पुर्जी जारी गरिएको बताइएको छ । यूएस सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिसनले दुवै व्यक्ति र अर्को व्यक्ति सिरिल क्याबनेसविरुद्ध सम्बन्धित नागरिक अभियोग दायर गरेको छ । यद्यपि, अमेरिकी सरकारले अडानी र अन्य व्यक्तिविरुद्धको विशेष आरोपहरूको बारेमा अझै पूर्ण विवरण उपलब्ध गराएको छैन ।
अभियोग लाग्नुभन्दा केही घण्टा अघि बन्ड बिक्री
अभियोगको खबर आउनुभन्दा केही घन्टाअघि अडानी समूहको एक इकाईले अमेरिकी कर्पोरेट बण्ड बजारमा ६०० मिलियन डलरको प्रस्तावमा प्रवेश गरेको थियो । यो प्रस्ताव ३ पटकभन्दा बढीले ओभरसब्सक्राइब भएको थियो । पछि यी ऋणपत्रको बिक्री पनि रद्द गरियो ।
अडानीले एक महिनाअघि पनि यस्तै प्रस्ताव राखेको थियो । यद्यपि, ब्लूमबर्गको रिपोर्ट अनुसार मूल्य निर्धारणमा लगानीकर्ताको विरोधपछि त्यो प्रस्ताव स्थगित गर्नुपरेको थियो । (एजेन्सीहरूको सहयोगमा)
Copyright © 2024 Bikash Media Pvt. Ltd.