अडानी समूहले दियो सफाइ, भन्छ- घूसखोरी र ठगीको आरोप निराधार

  २०८१ मंसिर ६ गते १६:५९     विकासन्युज

काठमाडौं । अडानी समूहले अमेरिकी न्याय विभाग र यूएस सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिसन (एसईसी) ले लगाएका आरोपलाई आधारहीन बताएकाे छ । अमेरिकी अदालतले अडानी समूहका अध्यक्ष गौतम अडानीसहित ८ जनाविरुद्ध मुद्दा दायर गरेको थियाे ।

अडानी ग्रीनका निर्देशकहरू विरुद्ध लगाएको घुसखोरीको आरोप निराधार भएको समूहले विज्ञप्ति जारी गर्दै बताएकाे छ ।

विज्ञप्तिमा अमेरिकी न्याय विभागले भर्खरै आरोप दायर गरेको र दोषी प्रमाणित नभएसम्म प्रतिवादीहरू निर्दोष मानिने उल्लेख गरिएको छ । यस विषयमा सम्भावित सबै कानुनी उपायहरू अवलम्बन गरिने पनि उल्लेख गरिएको छ ।

सेयरधनीलाई आश्वासन

अडानी समूहले विज्ञप्तिमा आफ्ना सेयरधनीहरूलाई आश्वासन दिएको छ । यसले अडानी समूहले सधैं सबै क्षेत्रहरूमा पारदर्शिता र नियामक नियमहरूको पालना गरेको र त्यसलाई निरन्तरता दिने बताएको छ । विज्ञप्तिमा भनिएको छ, ‘हामी हाम्रा सेयरधनीहरू, साझेदारहरू र समूहका कर्मचारीहरूलाई कानुनको पूर्ण पालना गर्ने संस्था हौं भन्ने विश्वस्त पार्न चाहन्छाैं ।’

के हो विषय ?

अडानी र उनका भतिजासहित कुल ८ जनामाथि अमेरिकी अभियोजनकर्ताले घुस लिएको आरोप लगाएका छन् । अभियोजकहरूका अनुसार सौर्य ऊर्जाको ठेक्का लिनका लागि भारतीय सरकारी अधिकारीहरूलाई २६५ मिलियन डलर घुस दिएको आरोप छ । यस मामिलामा अदालतले अडानी र उनका भतिजा विरुद्ध पक्राउ पूर्जी जारी गरेको छ ।

सेयरमा ठूलो गिरावट

यी आरोपलगत्तै अडानी समूहका सबै सेयरमा भारी गिरावट आएको छ । समूहको प्रमुख कम्पनी अडानी इन्टरप्राइजेजको सेयर २० प्रतिशतले घटेको छ । अडानी इनर्जी सोलुसन्सको सेयर पनि २० प्रतिशतको तल्लो सर्किटमा पुगेकाे छ । अडानी पोर्ट्स पनि २०% ले घट्यो ।

२ लाख करोडभन्दा बढीको घाटा

सेयरमा आएको गिरावटका कारण अडानीलाई २ लाख करोड भारुभन्दा बढीको घाटा भएको छ । सेयरमा आएको गिरावटका कारण अडानी समूहका कम्पनीहरूको मार्केट क्याप करिब २ लाख करोड भारुले घटेको छ । केही मिडिया रिपोर्टमा यो घाटा करिब ३ लाख करोड भारु रहेको पनि बताइएको छ ।

२०२३ को सुरुमा हिन्डनबर्ग रिसर्चको रिपोर्ट आएपछि पनि अडानीको सेयर घटेको थियो । आजको गिरावट त्यसपछिको सबैभन्दा ठूलो गिरावट हो । (एजेन्सीहरूको सहयोगमा)

यो पनि पढाैं-  अडानीविरुद्ध अमेरिकामा पक्राउ पूर्जी, अर्बौं डलर ठगीको आरोप

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.