व्यवसाय दर्ता, नवीकरण र राजस्व बुझाउने प्रक्रियामा एकीकृत प्रणाली ल्याउनुपर्छ : अध्यक्ष ढकाल

  २०८१ मंसिर ७ गते १३:१४     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई सम्मानपूर्वक काम गर्ने अवसर दिनुपर्नेमा जोड दिएका छन् ।

उनले यो धारणा नेपाली कांग्रेसले आयोजना गरेको शुक्रबारको एक कार्यक्रममा व्यक्त गरेका हुन् ।

अध्यक्ष ढकालले सुधारका लागि पहिलो सन्देश सबै राजनीतिक दलहरूले उद्यमी र व्यवसायीलाई प्रोत्साहन र समर्थन दिनुपर्ने रहेको बताए ।

सम्पत्ति निर्माण नगरी कुनै व्यक्ति, समाज वा देश धनी बन्न नसक्ने बताउँदै उनले यदि कुनै ठाउँमा बदमासी छ भने त्यसलाई नियन्त्रण गर्नुपर्नेमा जाेड दिए ।

अध्यक्ष ढकालले व्यवसाय दर्ता, नवीकरण वा राजस्व बुझाउने प्रक्रियामा एकीकृत प्रणाली ल्याउनुपर्नेमा पनि जोड दिए ।

साना उद्यमीलाई परियोजना धितोमा कर्जा दिनुपर्ने आवश्यकता औंल्याउँदै महासंघले यसको जोखिम न्यूनीकरण र सञ्चालनका लागि अध्ययन गरी सरकारलाई प्रतिवेदन बुझाइसकेको उनले ढकालले दिए ।

नेपाल दुई वर्षपछि विकासोन्मुख मुलुकमा स्तरोन्नति हुने कुरामा योजना आयोगको रणनीतिले जोखिम न्यूनीकरण गर्न सक्षम नभएको उनको टिप्पणी छ ।

अध्यक्ष ढकालले निजी क्षेत्र रणनीति बनाउन तयार रहेको बताउँदै २०२१ मै यस सम्बन्धी पहिलो प्रतिवेदन सार्वजनिक गरेको स्मरण गराए ।

अध्यक्ष ढकालले विगत दुई वर्षदेखि बजार नियन्त्रणका लागि अपनाइएका नीतिहरूले अर्थतन्त्रमा समस्या सिर्जना गरेको उल्लेख गरे । उनका अनुसार कम मागका कारण बजारमा चहलपहल छैन र उद्यमीहरू लगानी गर्न हतोत्साहित भएका छन् ।

महासंघले दशैं-तिहारलक्षित सर्वेक्षणबाट गत वर्षको तुलनामा बिक्री ४० प्रतिशत सम्म घटेको देखाएको जानकारी पनि उनले दिए ।

हिजो मात्रै सार्वजनिक भएको नेपालको पहिलो क्रेडिट रेटिंगले बीबी माइनस देखाएको छ, जसले अर्थतन्त्र अहिले स्थिर भए पनि सानो झट्काले जोखिम बढाउन सक्ने चेतावनी दिएको छ ।

नेपालमा लगानी गर्न चाहने लगानीकर्ताहरूका लागि यो सकारात्मक सन्देश रहेको उल्लेख गर्दै ढकालले महासंघको पहलमा नयाँ चरणको आर्थिक सुधारका लागि उच्चस्तरीय आयोग गठन भएको र यसले निजी क्षेत्रलाई पनि समावेश गरेकाे बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.