२०८१ मंसिर ७ गते १५:३३ विकासन्युज
काठमाडाैं । चालु आर्थिक वर्ष २०८१/०८२ को चार महिनामा ५ खर्ब १३ अर्ब ३८ करोड रुपैयाँ बढीका वस्तु तथा सेवा आयात भएको छ । यसैगरी, ५२ अर्ब ६७ करोड रुपैयाँ बढीको वस्तु तथा सेवा निर्यात भएको भन्सार विभागले जनाएको छ ।
विभागका अनुसार गत आवको चार महिनाको तुलनामा आयात ०.१७ र निर्यात ४.१६ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको चार महिनामा ५ खर्ब १२ अर्ब ५० करोड रुपैयाँको आयात र ५० अर्ब ५६ करोड रुपैयाँको निर्यात भएको थियो ।
चालु आवको कार्तिक मसान्तसम्म नेपालको व्यापार घाटा ४ खर्ब ६० अर्ब ७१ करोड रुपैयाँ रहेको छ । गत वर्ष यस्तो घाटा ४ खर्ब ६१ अर्ब ९३ करोड रुपैयाँ थियो । गत वर्षको तुलनामा व्यापार घाटा ०.२६ प्रतिशतले घटेको हो ।
यो चार महिनामा जम्मा वैदेशिक कारोबार ५ खर्ब ६० अर्ब ७१ करोड रुपैयाँको भएको छ । गत आवको चार महिनामा वैदेशिक कारोबार ५ खर्ब ६३ अर्ब ६ करोड रुपैयाँ रहेको थियो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.