२०८१ मंसिर ७ गते १७:४४ विकासन्युज
काठमाडौं । हिमालय एयरलाइन्सले आफ्नो सिट क्षमताको परिधिमा रहेर भाडा दर कायम गरेको जनाएको छ ।
शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै हिमालय एयरलाइन्सले यस्तो जनाएकाे हाे ।
काठमाडौंबाट विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यसम्मको उडानमा उच्च हवाई भाडा लिएको भन्ने जनगुनासो आएसँगै हिमालय एअरलाइन्सले विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण गराएको हो ।
एयरलाइन्सले हवाई टिकटको कालोबजारी नियन्त्रण गर्न विभिन्न कदम अपनाएकाे पनि जनाएकाे छ । उसले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशन र नेपालमा सञ्चालनमा रहेका सबै अन्तर्राष्ट्रिय एयरलाइन्सको सहमतिमा १० नोभेम्बर २०२४ देखि अर्को सूचना जारी नहुन्जेलसम्म सबै बुकिङ निलम्बन गरिसकेको जनाएकाे छ ।
सबै ट्राभल एजेन्टहरूलाई न्यूनतम लाभ मार्जिनमा मात्र टिकट बिक्री गर्न सूचित गरिसकिएको हिमालय एयरलाइन्सले विज्ञप्तिमा उल्लेख गरेकाे छ । साथै ट्राभल एजेन्टहरूलाई हप्तामा कम्तीमा दुई पटक ईमेल पठाइरहेको र यदि कसैले कालोबजारी गरेमा कानुनअनुसार कारबाही गरिने पनि जनाइएकाे छ ।
यात्रुहरूलाई सहज बनाउन हिमालय एयरलाइन्सले २१ नोभेम्बर २०२४ देखि वाई क्लासको भाडा उच्च श्रेणीको भाडा दरमा टिकट बिक्री नगर्ने निर्णय गरिसकेकाे छ ।
यसैगरी, यात्रुहरूले आफूसँग अत्यधिक भाडा लिएको खण्डमा एयरलाइन्सलाई सम्पर्क गर्न पनि कम्पनीले अनुरोध गरेको छ ।
हिमालय एयरलाइन्स नेपाल–चीन बीचको संयुक्त साझेदारी कम्पनीका रूपमा स्थापित अन्तर्राष्ट्रिय विमान कम्पनी हो, जसको स्थापना सन् २०१४ मा भएको थियो।
Copyright © 2024 Bikash Media Pvt. Ltd.