२०८१ मंसिर ७ गते १९:०१ विकासन्युज
काठमाडौं । पोखरा विश्वविद्यालयले व्यवस्थापन अध्ययन संकायको स्नातक र स्नातकोत्तर तहमा नयाँ पाठ्यक्रमहरू लागु गर्ने भएको छ ।
व्यवस्थापन अध्ययन संकाय अन्तर्गत सञ्चालित शैक्षिक कार्यक्रमहरूमध्ये स्नातक तहको बीबीए, बीबीए (फाइनान्स) र बीबीए (ट्राभल एण्ड टुरिज्म) र स्नातकोत्तर तहमा एमबीए, एमबीए (फाइनान्स) र एमबीए ग्लोबल बिजनेसका पाठ्यक्रमहरू यसै शैक्षिक सत्र २०२४ बाट लागू हुने गरी नयाँ परिमार्जित र परिष्कृत गरिएको पोखरा विश्वविद्यालयले जनाएको छ ।
बीएचएम र बिसिएस आइटी कार्यक्रमहरूमा भने शैक्षिक सत्र २०२३ देखि नै पाठ्यक्रम लागू भई पठनपाठन भइरहेका छन्।
अहिलेको बद्लिँदो विश्व परिवेश , आर्थिक, सामाजिक, व्यावसायिक र प्राविधिक गतिविधिहरूलाई मध्यनजर गर्दै व्यवस्थापन, व्यापार, उद्यमशीलता र अन्य व्यवसायीहरूका लागि दक्ष मानव संशाधन उत्पादन गर्ने उद्देश्यले नयाँ पाठ्यक्रम सुरु गरेको विश्वविद्यालयले जनाएको छ ।
हाल लागू गरिएका स्नातक तहका पाठ्यक्रमहरूमा प्रत्येक सेमेस्टर प्रयोगात्मक र व्यावहारिक ज्ञानको लागि प्राक्टिकल कोर्षहरू, प्रोजेक्ट वर्क र कम्युनिटी इङ्गेजमेन्ट प्रोजेक्टजस्ता कोर्सहरू समावेश गरिएका छन्। अन्तिम आठौं सेमेस्टरमा इन्टर्नसिप राखिएको छ, सो सेमेस्टरमा कलेजमा हाजिर हुनेगरी कुनै पनि कोर्ष नराखेको जनाइएको छ ।
यसरी कलेज आउनु नपर्ने हुँदा सात सेमेस्टरपछि विद्यार्थीहरू इन्टर्नसिपसहित रोजगारीमा वा व्यवसायमा आवद्ध हुन सक्नेछन्। विद्यार्थीहरूका लागि याे अति नै उपयोगी, रोजगारमुखी र व्यवसायमुखी हुने विश्वविद्यालयको विश्वास छ । नयाँ पाठ्यक्रममा बीबीए – बीआई कार्यक्रमलाई बीबीए (फाइनान्स) नामकरण गरिएको छ ।
यस कार्यक्रममा फाइनान्समा विशिष्टीकरण कोर्षसँगै बैंकिङ बिमा, कर्पोरेट फाइनान्स र पूँजी बजा मध्ये कुनै दुईवटा विधामा विशिष्टीकरण गर्न सकिनेछ । स्नातकोत्तर तहका शैक्षिक कार्यक्रमहरू एमबीए, एमबीए फाइनान्स र एमबीए ग्लोबल बिजनेसमा बजारको आवश्यकताअनुसारका नयाँ कोर्सहरू राखिएको हो ।
यी कार्यक्रमहरू अध्ययनको सिलसिलामा इन्डस्ट्री अथवा रिसर्चमध्ये एउटा रोज्न पाइनेछ । जुन नेपालको व्यवस्थापन शिक्षामा नयाँ प्रयोग हो । यसरी स्नातकोत्तर तहमा पनि इन्टर्नसिपलाई विशेष प्राथमिकता दिइएको छ ।
पोखरा विश्वविद्यालयले नेपालमै व्यवस्थापन संकायअन्तर्गत मात्र सेमेस्टर प्रणालीमा एमबीए, एमबीए (फाइनान्स) र एमबीए ग्लोबल बिजनेस कार्यक्रमहरू अध्ययन अध्यापन गराउने गरेको दाबी गरेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.