चीनमा इभीको वर्चश्व बढ्दै, अरू विदेशी कम्पनी टिक्न सकस

  २०८१ मंसिर ७ गते १८:५४     विकासन्युज

काठमाडौं । परम्परागत विदेशी अटोमोबाइल निर्माता कम्पनीहरूले चीनको विद्युतीय कार (इभी) बजारमा आफूलाई अनुकूल बनाउने समय सकिँदै गएको विश्लेषकहरू बताउँछन् । विश्लेषकहरू कम्पनीहरूले चीनमा आफ्नो स्थायित्व कायम राख्न स्थानीय कम्पनीसँग साझेदारी गर्नैपर्ने दावी गर्छन् ।

जीवाश्म इन्धन (डिजेल पेट्रोल) मा आधारित अटोमोबाइल निर्माताहरूले विश्वको सबैभन्दा ठूलो कार बजारमा आफ्नो पकड कायम राख्न संघर्ष गरिरहेका छन् । जहाँ तीव्र रूपमा नयाँ ऊर्जा सवारीसाधनहरू देशकाे आधाभन्दा बढी कार बिक्री कब्जा गर्ने ध्येयमा छन् ।

यदि विदेशी ब्रान्डहरूले ‘छिट्टै चीनको बजारमा प्रतिस्पर्धात्मक स्वच्छ ऊर्जा सवारीसाधनहरू ल्याउन सकेनन् भने कुनै पनि बजार हिस्सा बचाउनको लागि सम्भवतः स्थानीय कम्पनीसँगको साझेदारी नै एकमात्र उपाय हुनेछ,’ सिनो अटो इन्साइट्सका संस्थापक तथा प्रबन्ध निर्देशक टु लेले भने ।

तर यो सम्भवतः धेरै विदेशी ब्रान्डहरूका लागि निकै ढिला भएको उनी बताउँछन् ।

सन् २०१९ देखि २०२३ को अवधिमा अमेरिकी अटो निर्माता जनरल मोटर्स, जर्मनीको फोक्सवागन र जापानको निसानले चीनमा आफ्नो आम्दानी घटेको देखेका छन् ।

सन् २०२३ मा दक्षिण कोरियाको कियाले चीनमा २०२० भन्दा ३० प्रतिशतभन्दा कम बिक्री रिपोर्ट गरेकाे छ । यसको तुलनामा टेस्लाले २०१९ देखि २०२३ सम्म चीनको बिक्रीमा छ गुना वृद्धि भएको जनाएकाे छ ।

लगानीकर्ताहरूको चिन्ता बढ्दै जाँदा व्यवस्थापनले योजनाहरूमा विचार गरिरहेका छन् । जीएमकी सीईओ मेरी बर्राले चीनमा नाफा सुधार गर्न ‘पुनर्संरचना’को विषयमा सेयरधनी र संयुक्त उद्यमका बोर्ड सदस्यहरूसँग बैठकहरू तय गरिएको बताइन् । एक समय राजस्वको हिसाबले जीएम शीर्ष स्थानमा थियो ।

अमेरिकी, जर्मन र अन्य विदेशी अटोमोबाइल कम्पनीहरू जो दशकौं अगाडि चीनमा प्रवेश गरेका थिए, उनीहरू स्थानीय कम्पनीहरूसँग संयुक्त उद्यमका लागि साझेदारी हुन बाध्य पारिएका थिए ।

सन् २०२२ मा मात्र चिनियाँ अधिकारीहरूले विदेशी कार कम्पनीहरूलाई उनीहरूको स्थानीय उत्पादनको पूर्ण स्वामित्व लिन अनुमति दिएका थिए । तर यो एक आकर्षक बजार थियाे, जहाँ २०२२ सम्म पनि जीएम र फोक्सवागनले बजार हिस्साको शीर्ष दुई स्थान कब्जा गरेका थिए । त्यसपछि चीनको बीवाईडी र गीलीले क्रमशः बजारको पहिलो र दोस्रो स्थान लिएको चीनको यात्रु कार संघको अक्टोबरको तथ्यांकले देखाउँछ ।

‘पश्चिमी [अटोमोबाइल निर्माता]हरू यस तथ्यप्रति जागरुक भैरहेका छन् कि उनीहरू अब चुपचाप बसेर आफ्ना बजार स्थिति खस्किँदै गएको हेर्न सक्दैनन् । उनीहरूले केही न केही गर्नुपर्छ, ठूलो केही गर्नु पर्छ,’ हङकङमा आधारित मर्जर र अधिग्रहण कानुनी विशेषज्ञ डेविड नर्मनले भने ।

गत वर्ष उनले नेदरल्यान्ड्सको स्टेललान्टिसको तर्फबाट चिनियाँ विद्युतीय कार कम्पनी लिपमोटरको २० प्रतिशत हिस्सामा झन्डै १.५९ अर्ब डलरको खरिदमा प्रतिनिधित्व गरेका थिए ।

‘भविष्यको सम्भावना हेर्ने हो भने मलाई लाग्छ- थप साझेदारीहरू पक्कै पनि देखिनेछ,’ नर्मनले भने, ‘चिनियाँ नयाँ ऊर्जा सवारीसाधन कम्पनीहरूको प्राविधिक अग्रता उल्लेखनीय छ र अझ बढिरहेको छ ।’

चिनियाँ विद्युतीय कार कम्पनीहरूले तीव्र प्रतिस्पर्धी स्थानीय बजारमा टिक्न स्मार्टफोनजस्ता मनोरञ्जन डिस्प्ले, प्रोजेक्टर र ड्राइभर-सहायक प्रविधिजस्ता फिचर आफ्ना सवारीसाधनमा राखेका छन् ।

टेस्लाको ड्राइभर-सहायक संस्करणले अझै चीनमा पूर्ण अनुमोदन पाएको छैन, जबकि स्वदेशी कम्पनीहरूले आफ्ना संस्करणहरू विकास गरिसकेका छन् । एक्सपङ, बीवाईडी र अन्य स्थानीय कम्पनीहरूले एनभीडीया चिप प्रयोग गर्छन्, जबकि चिनियाँ दूरसञ्चार जायन्ट हुवावेले अन्य अटोमोबाइल निर्माताहरूका लागि ड्राइभर-सहायक र इन-कार मनोरञ्जन प्रणाली निर्माण गरेको छ ।

‘चीनमा प्रतिस्पर्धात्मक सवारीसाधन बनाउनका लागि [विदेशी] कम्पनीहरूलाई उन्नत ड्राइभर प्रणाली चाहिन्छ, जुन केही चिनियाँ सवारीसाधनहरूमा देखिने सुविधासँग तुलनीय होस्,’ एलिक्सपार्टनर्सको एशिया अटोमोटिभ प्राक्टिसका स्टेफन डायरले भने ।

विदेशी अटोमोबाइल निर्माताहरूले ड्राइभर-सहायक प्रविधिका लागि चिनियाँ बजारका लागि मात्र नभइ विदेशी बजारका लागि पनि चिनियाँ कम्पनीहरूसँग साझेदारी गर्ने उनकाे अपेक्षा छ ।

फोक्सवागनले गत वर्ष चिनियाँ विद्युतीय कार स्टार्टअप एक्सपङमा ७०० मिलियन अमेरिकी डलर लगानी गरिसकेको छ, जसले चीनमा २०२६ सम्म वितरणका लागि मोडलहरू सिर्जना गर्नेछ । त्यसको अघिल्लो वर्ष जर्मन अटोमोबाइल निर्माताले आफ्नो कार सफ्टवेयर सहायक कम्पनी र चिनियाँ स्वचालित ड्राइभिङ चिप निर्माता होराइजन रोबोटिक्सबीच साझेदारीका लागि २.४ बिलियन युरो लगानी गर्ने योजना घोषणा ग‍रेको थियाे ।

उन्नत ड्राइभर-सहायक प्रविधिमा अन्य महत्त्वपूर्ण साझेदारीमा टोयोटाको गत वर्षको घोषणा पनि समावेश छ । यो साझेदारीले चिनियाँ स्वचालित ड्राइभिङ स्टार्टअप पोनी.एआईसँग कारहरूको ठूलो मात्रामा उत्पादन गर्न संयुक्त उद्यम स्थापना गर्नेछ ।

चिनियाँ कम्पनीसँग प्रतिस्पर्धा गर्न गाह्रो

विदेशी अटोमोबाइल निर्माताहरूले उही बजारमा आफ्नै कार वा प्रविधि बेच्ने चिनियाँ कम्पनीहरूसँग साझेदारी गरेर प्रभावकारी लाभ बनाउन सक्ने वा नसक्ने भन्नेबारे अझै अन्याैल छ ।

‘स्वदेशी नयाँ ऊर्जा सवारीसाधन ब्रान्डहरू धेरै प्रतिस्पर्धात्मक छन्,’ साङ्घाईमा रहेको मर्जर र अधिग्रहण साझेदार वेङ याजुनले चिनियाँ भाषामा भने, ‘तपाईंले सबै प्रयास गर्न सक्नुहुन्छ, तर पनि केही कारमात्र बेच्न सक्नुहुन्छ ।’

चीनका अटोमोबाइल निर्माताहरूले खरिदकर्तालाई आकर्षित गर्न मूल्य घटाएका छन्, साथै उनीहरूले एकै वर्षमा धेरै नयाँ मोडलहरू सुरु गरेका छन् । जबकि राज्य स्वामित्वका कार कम्पनीहरू पनि संघर्ष गरिरहेका छन् ।

यसले विदेशी अटोमोबाइल निर्माताहरूले कुनै पनि स्थानीय अधिग्रहणका लागि राज्य-स्वामित्वका कम्पनीहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने अर्थ लगाउँछ । विश्लेषकहरू चिनियाँ स्टार्टअपहरूले घाटामा काम गरिरहेका भए तापनि आफूलाई बेच्न चाहने अवस्थामा नभएकाे बताउँछन् ।

चीनको बजारमा विदेशी अटोमोबाइल निर्माताहरू र चिनियाँ विद्युतीय कार स्टार्टअपहरूबीच अहिलेसम्मकै सबैभन्दा चर्चित साझेदारी फोक्सवागनको एक्सपङमा रहेको हिस्सादारी हो ।

जर्मन कम्पनीले आफ्नो बजार हिस्सा पुनःस्थापित गर्न अन्य रणनीतिहरू पनि प्रयोग गर्दैछ । अडी ब्रान्डले चिनियाँ राज्य-स्वामित्वको अटोमोबाइल निर्माता एसएआईसीसँग मिलेर चीनमा नयाँ विद्युतीय कार ब्रान्ड सुरु गरेकाे छ, जसले चारवटा रिङ लोगो हटाएर गोलाकार ठूला अक्षरमा ‘अडी’ लेखेको छ ।

चीनमा विदेशी अटोमोबाइल निर्माताहरूको बजार हिस्सा अर्को वर्ष घट्नेछ र केही ब्रान्डहरू देशबाट मूलतः बाहिरिने फिच रेटिङ्सका एसिया-प्रशान्त कर्पोरेट रेटिङ्सकी निर्देशक जिङ याङले बताइन् । (एजेन्सीहरूको सहयोगमा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.