२०८१ मंसिर ९ गते १४:०५ विकासन्युज
काठमाडौं । बैंकिङ क्षेत्रमा तीन महिनाको अवधिमा करिब १९ हजार नयाँ ऋणी थपिएका छ । चालु आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा बैंकहरूमा १ प्रतिशत अर्थात् १८ हजार ९६४ नयाँ ऋणी थपिएर कुल १९ लाख १२ हजार २३४ ऋणी ग्राहक रहेका छन् । गत असारसम्म १८ लाख ९३ हजार २७० ऋणी ग्राहक थिए ।
समीक्षा अवधिमा वाणिज्य बैंक र फाइनान्स कम्पनीले नयाँ ऋणी थप्दा विकास बैंकमा भने ऋणीको संख्या घटेको देखिन्छ । यस अवधिमा वाणिज्य बैंकहरूले कर्जातर्फ १९ हजार ८८३ नयाँ ऋण ग्राहक थपेर १५ लाख ८३ हजार ६६९ ऋणी पुर्याएको छ । जबकि गत असारसम्म वाणिज्य बैंकमा १५ लाख ६७ हजार ५०८ ऋणी थिए ।
यस्तै, फाइनान्स कम्पनीहरूले पनि तीन महिनाको अवधिमा ५१२ नयाँ ऋणी थपेका छन् । असोजसम्म फाइनान्स कम्पनीबाट ऋण लिनेको कुल संख्या ४३ हजार ६४७ पुगेको छ । जबकि तीन महिनाअघि अर्थात् गत असारमा ४३ हजार १३५ मात्रै ऋणीले फाइनान्स कम्पनीबाट ऋण लिएका थिए ।
तीन महिनामा ऋणीको संख्या उल्लेख्य बढेको भएपनि कर्जाको आकार भने बढ्न नसकेको बैंकरहरू बताउँछन् । पछिल्लो समय बैंकरहरू आक्रामक रूपमा कर्जा विस्तारमा लागेका छन् । तर, स-साना रकमका कर्जामात्रै जाँदा कर्जाको आकार कम रहेको र ऋणीको संख्या बढेको हुन सक्ने एक बैंकरले बताए ।
विकास बैंकहरूले तीन महिनामा १ हजार ४३१ ऋणी गुमाउनु परेको छ । अर्थात् असारको तुलनामा असोजमा विकास बैंकका १ हजार ४३१ ऋणी बाहिरिएका हुन् । असोजमा विकास बैंकहरूबाट २ लाख ८१ हजार १९६ ऋणी कर्जा लिएका छन् । जबकि गत असारसम्म विकास बैंकहरूबाट २ लाख ८२ हजार ६२७ ऋणीले कर्जा लिएका थिए ।
तर, विकास बैंकमा कार्यरत उच्च व्यवस्थापकहरू भने कर्जा असुली राम्रो भएकाले ऋणीको संख्या घट्न पुगेको तर्क गर्छन् । साथै, विकास बैंकका ऋणीलाई वाणिज्य बैंकहरूले तानेका कारण संख्या घट्न पुगेको उनीहरूको भनाइ छ ।
‘कोही ऋणीले कर्जा चुक्ता गरेर बसेका छन्, कोही ऋणी बाहिरिएका छन्, कोही ऋणीलाई वाणिज्य बैंकहरूले तानेका छन्,’ लुम्बिनी विकास बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) उमेश रेग्मीले भने, ‘माहोल बनेन, व्यवसाय सुधार भएन भन्नुहुन्छ, उहाँहरू जग्गा जमीन बेच्दै कर्जा चुक्ता गरेर बस्नु भएको छ, समग्रमा कर्जाको माग छैन, पर्ख र हेरको अवस्थामा छन् ।’
उनका अनुसार विकास बैंकका ऋणीहरू वाणिज्य बैंकमा जाने ल्याकत राख्छन् । किनभने उनीहरूको कर्जाको आकार पनि ठूलो नै हुन्छ । त्यसैले विकास बैंकका ऋणीहरू वाणिज्य बैंकतिर गएका हुन सक्ने उनले बताए ।
३ महिनामा पौने ११ लाख निक्षेपकर्ता थपिए
समीक्षा अवधिमा ऋणीका ग्राहकसँगै पौने ११ लाख निक्षेपका ग्राहक थपिएका छन् । चालु आर्थिक वर्षको तीन महिनामा बैंक तथा वित्तीय संस्थामा १० लाख ७९ हजार ५७८ निक्षेपतर्फका ग्राहकहरू थपिएका छन् । असोजसम्म ५ करोड ६९ लाख ७५ हजार ३५८ निक्षेप खाता रहेका छन् । जबकि गत असारमा निक्षेप खाताको संख्या ५ करोड ५८ लाख ९५ हजार ७८० थिए ।
समीक्षा अवधिमा वाणिज्य बैंकमा ४ करोड ८८ लाख ३६ हजार ४३२ वटा, विकास बैंकमा ७२ लाख २४ हजार ८९१ वटा र फाइनान्स कम्पनीमा ९ लाख १४ हजार ३५ वटा निक्षेप खाता रहेका छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.