नेपाल निप्पोन चेम्बर अफ कमर्सको स्थापना, नेपाल र जापानको व्यापार सम्बन्ध विस्तार गर्ने उद्देश्य

  २०८१ मंसिर ९ गते १८:२८     विकासन्युज

काठमाडौं । नेपाल निप्पोन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीजको स्थापना भएको छ। नेपाल र जापानबीचको व्यापार, उद्योग, पर्यटन र आर्थिक सम्बन्धलाई समृद्ध गर्न नेपाल निप्पोन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीजको स्थापना गरिएको हो । उक्त संस्थाको नेतृत्व उद्यमी सौरभ ज्योतिले गर्ने भएका छन् ।

यो संस्था सामाजिक सेवामूलक र गैरनाफामूलक कम्पनीका रूपमा दर्ता गरिएको हो । संस्थाले नेपाल र जापानका उद्योगपति, व्यापारी तथा व्यावसायिक समुदायबीच सहकार्य र समझदारीलाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ ।

आइतबार जापानी दूतावासका मिशन उप–प्रमुख तामुरा ताकाहरोले नेपाल निप्पोन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीजको कार्यालय एक कार्यक्रमका बीच उद्घाटन गरे ।

यस संस्थाको आर्जित मुनाफा चेम्बरका उद्देश्यहरू पूरा गर्न मात्र खर्च गरिने व्यवस्था रहेको छ । यसको सदस्य बन्न इच्छुक १८ वर्ष उमेर पुगेका नेपाली नागरिकले १० हजार शुल्क दिई सदस्यता प्राप्त गर्न सक्नेछन् । यद्यपि सदस्यता हस्तान्तरण गर्न भने सकिने छैन ।

संस्थाले समाज कल्याण ऐन, २०४९ तथा कम्पनी ऐन, २०६३ अनुसार कानुनी प्रक्रिया पालना गर्दै वैदेशिक आर्थिक, प्राविधिक तथा वस्तुगत सहयोग लिनुपरेमा समाज कल्याण परिषद्को पूर्व स्वीकृति लिने पत्रकार सम्मेलनमा जनाइएको छ ।

यस चेम्बरको रजिष्टर्ड कार्यालय काठमाडौं महानगरपालिका वडा नं २० मा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.