२०८१ मंसिर ९ गते २२:०१ विकासन्युज
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्षका लागि तीन जनाको नाम सिफारिस गरिएको छ । धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिले सन्तोषनारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र नवराज अधिकारीको नाम सिफारिस गरेको हो ।
स्रोतका अनुसार सिफारिस समितिले उत्कृष्ट कार्यायोजना तथा अन्तर्वार्ताका आधारमा तीन जनाको नाम सिफारिस गरेको हो ।
तीनै जनाको नाम मन्त्रिपरिषद् बैठकमा सिफारिस भएपछि सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले एक जनालाई नेपाल धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गर्ने सम्भावना छ ।
आइतबार धितोपत्र बोर्डका कार्यकारी निर्देशक अधिकारी र नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्कीले कार्ययोजना प्रस्तुत गरेका थिए । पाँच जनाको सर्टलिस्टमा परेका नेपाल बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जिवी चापागाईं भने अन्तर्वार्तामा उपस्थित भएका थिएनन् ।
सन्तोषनारायण र मुक्तिनाथले भने पहिलोपटक नै अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत गरेका थिए । सन्तोषनारायण नेपाल विद्युत् प्राधिकरणका पूर्व सञ्चालक हुन् भने मुक्तिनाथ श्रेष्ठ धितोपत्र बोर्डका कार्यकारी निर्देशक हुन् ।
पुस २० गतेदेखि तत्कालीन अध्यक्ष रमेशकुमार हमाल कार्यकाल सकेर बाहिरिएपछि बोर्ड नेतृत्वविहीन छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.