कल सेन्टरमा अवैध धन्दा चलाउने ३ विदेशी नागरिक कारागार चलान, कल सेन्टरको दुबई कनेक्सन

  २०८१ मंसिर १० गते १७:४८     विकासन्युज

 

काठमाडौं । कल सेन्टरमा अवैध भन्दा चलाएको आरोपमा तीन विदेशी नागरिक कारागार चलान भएका छन् ।

कारागार चलान हुनेमा दुई चिनियाँ र एक फिलिपिनो नागरिक रहेका छन् ।

भिजिट भिसामा दुबई गएका नेपालीहरूलाई प्रयोग गरी अवैध भन्दा चलाएको आरोपमा तीनजना पुर्पक्षमा कारागार चलान भएका हुन् ।

ललितपुर जिल्ला अदालतका न्यायाधीश निर्मला योङयाको सोमबारको इजलासले लिन क्वीनजिङ, डिङ जिहोङ र फिलिपिन्सकी महिला हानिपा सिन्सुएतलाई कारागार चलान गरेको हो ।

बाँकी धरौटीमा रिहा भएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जनाएको छ ।

सीआईबीले गत भदाैमा जावलाखेलस्थित एक अवैध कल सेन्टरमा छापा मारी ५० जनालाई पक्राउ गरेको थियाे । त्यतिबेला करिब अर्बको हाराहारीमा अवैध क्रिप्टो करेन्सीको कारोबार भेटिएको थियो ।

पक्राउपश्चात अनुसन्धान गर्दै जाँदा कल सेन्टरको दुबई कनेक्सन देखिएको थियो ।

प्रहरीले कारागार चलान भएका तीन विदेशी नागरिकलाई दुई महिना हिरासतमा राखी अनुसन्धान गरेको थियो ।

सुरुमा उनीहरूविरुद्ध मुलुकी अपराधसंहिताको दफा २६२ अनुसार अभौतिक मुद्राको प्रयोग गर्न नहुने कसुरमा म्याद लिएर अनुसन्धान गरिएको थियो ।

संगठित रूपमा अवैध क्रिप्टोकरेन्सीको कारोबार धन्दा दुबईमा चलाएकाले उनीहरू सबैलाई दुबई प्रहरीले पक्राउ गरेर डिपोर्ट गरेको थियो । दुबईबाट डिपोर्ट भएपछि उनीहरूले त्यही धन्दालाई चिनियाँको योजनामा जावलाखेलमा सञ्चालन गरेको सीआईबीको अनुसन्धानबाट खुलेको थियो ।

उक्त गिरोहले जावलाखेलस्थित जगदीश उपाध्यायको घर मासिक ३ लाख भाडामा लिई काम सुरु गरेका थिए ।

पक्राउ परेका ५० मध्ये ४२ लाई हाजिरी जमानीमा छाडेर ८ जनालाई मात्रै हिरासतमा लिएर सीआईबीले सुरुवाती अनुसन्धान गरेपनि पछि अनुसन्धानको क्रममा अन्यको पनि भूमिका देखिएपछि उनीहरूलाई पुन: हिरासतमा लिइएको थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.