झन् सशक्त बन्दै बीवाईडी, अर्को वर्ष नयाँ पुस्ताको ब्लेड ब्याट्री लन्च गर्ने

  २०८१ मंसिर ११ गते १०:४०     विकासन्युज

काठमाडौं । चिनियाँ इलेक्ट्रिक गाडी (ईभी) कम्पनी बीवाईडीले सन् २०२५ मा नयाँ पुस्ताको ब्लेड ब्याट्री सार्वजनिक गर्ने योजना बनाएको छ । उक्त ब्याट्रीले राम्रो दूरी प्रदर्शन गर्ने अपेक्षा बीवाईडीले गरेको छ ।

‘मलाई लाग्छ, आउँदाे वर्ष २०२५ मा बीवाईडीले हाम्रो उत्कृष्ट ब्लेड ब्याट्रीको नयाँ पुस्ता प्रस्तुत गर्नेछ,’ बीवाईडी सेन्ट्रल एसियाका प्रबन्ध निर्देशक तथा युरोपियन अटो सेल्स डिभिजनका प्रमुख काओ शुआङले भने ।

‘यसले हाम्रा गाडीको यात्राको दूरी बढाउनेछ र ब्याट्री लाइफ पनि लम्ब्याउनेछ,’ उनले थपे ।

शुआङले यो कुरा हालै सम्पन्न भएको संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तन संरचना महासन्धिको २९औं सम्मेलन (कोप २९) को क्रममा अजरबैजानको बाकुमा बताएका हुन् ।

उनका अनुसार बीवाईडीले आफ्नो ब्याट्री लाइफ व्यवस्थापन प्रणालीमा ध्यान केन्द्रित गर्दैछ र विभिन्न उद्योगका साझेदारसँग मिलेर ब्याट्री पुन: प्रयोग प्रणाली विकास गर्न काम गरिरहेको छ ।

उदाहरणका लागि, गाडीमा प्रयोग भएको ब्याट्रीको पहिलो जीवनपछि तिनीहरूलाई ऊर्जा भण्डारणजस्ता विभिन्न प्रकारका काममा प्रयोग गर्न सकिन्छ ।

काओले भने, ‘बीवाईडीले विश्वभर नयाँ ऊर्जा गाडी (एनईभी) उत्पादन र नवीनतम प्रविधिहरू मानिसहरूका लागि उपलब्ध गराउँदै राम्रो उदाहरण प्रस्तुत गरेको छ ।’

‘यो प्रतिबद्धता विभिन्न देशहरूमा जे भए पनि अडिग रहनेछ,’ उनले थपे ।

बीवाईडीले पहिलो पुस्ताको ब्लेड ब्याट्री मार्च २०२० मा सार्वजनिक गरेको थियो । लिथियम आयरन फस्फेट (एलएफपी) रसायनमा आधारित यो ब्याट्री सुरक्षाको विषयमा केन्द्रित भइ बनेकाे छ र अहिले एनईभी निर्माता कम्पनीका सम्पूर्ण मोडलहरूमा प्रयोग भइरहेको छ ।

बीवाईडीले विगत केही वर्षमा आफ्नो ब्याट्री अपडेट गरेको थिएन । यो बीचमा ब्याट्री कम्पनी (सीएटीएल) जस्ता अन्य कम्पनीहरूले नयाँ ब्याट्री उत्पादन सार्वजनिक गरेका छन् ।

जुन १३ मा स्थानीय मिडिया ३६ केआरले बीवाईडीसँग नजिकको स्रोतलाई उद्धृत गर्दै कम्पनीको दोस्रो पुस्ताको ब्लेड ब्याट्री चाँडै सार्वजनिक हुन सक्ने बताएकाे थियाे ।

अक्टोबर ३० मा स्थानीय अटोमोटिभ मिडिया एक्ससुजिङका प्रधान सम्पादक वु यिङले बीवाईडीको लक्जरी उप-ब्रान्ड याङवाङको यू ७ सेडानलाई दोस्रो पुस्ताको ब्लेड ब्याट्रीद्वारा सञ्चालन गरिने जानकारी दिएका थिए ।

याङवाङ बीवाईडीको उप-ब्रान्ड हो, जसलाई जनवरी ५, २०२३ मा सार्वजनिक गरिएको थियाे । एक लाख ३८ हजार अमेरिकी डलर मूल्यको उक्त गाडी अल्ट्रा लक्जरी बजारलाई लक्षित गरी सार्वजनिक गरिएको हो । यसको पहिलो मोडल यू ८ अफ-रोड एसयूभी हो ।

याङवाङले यस वर्षको जनवरी १० मा ब्रान्डको पहिलो सेडानको हर्सपावर एक हजारभन्दा बढी हुने र यसको मूल्य १ मिलियन युआन बराबरको हुने घोषणा गरेको थियाे ।

बीवाईडीको स्थापना सन् १९९५ फेब्रुअरीमा भएको थियो । सुरुमा बीवाईडी रिचार्जेबल ब्याट्री उत्पादनमा केन्द्रित थियो । सन् १९९८ मा यो विश्वकै दोस्रो ठूलो ब्याट्री उत्पादक कम्पनी बन्यो । बीवाईडी मोटोरोला र नोकियालाई ब्याट्री उपलब्ध गराउने प्रमुख कम्पनीसमेत बनेको थियाे ।

सन् २००३ मा बीवाईडी इन्धनबाट चल्ने सवारीसाधन उत्पादनका साथ अटोमोटिभ इन्डष्ट्रीमा प्रवेश गरेको थियो ।

हालै १ करोड न्यु इनर्जी भेहिकल उत्पादन गर्ने पहिलो कम्पनी बन्न बीवाईडी सफल भएको छ । बीवाईडीले ५० लाख एनईभी उत्पादन गर्न १५ वर्षको समय लगाएको थियो । तर अर्को ५० लाख सवारीसाधन उत्पादनको लक्ष्य भने १५ महिनामै हासिल गर्न सफल भयो ।

आगामी दिनमा बीवाईडीले अटोमोटिभ सिस्टमका लागि इन्टेलिजेन्ट टेक्नोलोजीमा एआईलाई एकीकृत गर्न र ड्राइभिङ सिस्टम अपग्रेड गर्न १०० अर्ब युआन लगानी गर्ने घोषणासमेत गरिसकेको छ ।

३० वर्ष पहिले २० कर्मचारीबाट सुरुवात भएको बीवाईडी हाल विश्वभर करिव १० लाख कर्मचारीसहितको बहुराष्ट्रिय कम्पनीमा रूपान्तरण भएको छ । (एजेन्सीहरूको सहयोगमा)

यो पनि पढौं- चीनमा इभीको वर्चश्व बढ्दै, अरू विदेशी कम्पनी टिक्न सकस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.