२०८१ मंसिर ११ गते १२:२९ सीआर भण्डारी
काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरूबाट ऋणीहरूको संख्या स्वाट्टै घटेको छ । पछिल्लो तीन वर्षको अवधिमा लघुवित्त संस्थाबाट साढे ६ लाख ऋणी घटेका हुन् । ३ वर्षअघि अर्थात् २०७९ असारसम्म ३३ लाख ३ हजार ग्राहकले लघुवित्त संस्थाहरूबाट ऋण लिएका थिए ।
तर, पछिल्लो समय उक्त संख्या घट्दै २०८१ असारसम्म लघुवित्त संस्थाबाट कर्जा लिनेको संख्या २६ लाख ६३ हजारमा झरेको हो । यसअवधिमा लघुवित्त संस्थाबाट १९.३७ प्रतिशत अर्थात् ६ लाख ४० हजार ऋणी घटेको नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ ।
विगतको तथ्याङ्क केलाउँदा हाल लघुवित्तमा रहेका ऋणीको संख्या ६ वर्षयताकै कम हो । विसं २०७६ असारमा लघुवित्त संस्थामा २६ लाख ७९ हजार ऋण खाता थिए । सो वर्षपछि ऋणीको संख्या निरन्तर बढेको देखिन्छ । तर, गत वर्ष भने ऋणीको संख्यामा व्यापक गिरावट आएको देखिन्छ ।
तथ्याङ्कअनुसार लघुवित्त संस्थाहरूमा २०८० असारमा २९ लाख ८४ हजार ऋणी, २०७८ असारमा २९ लाख ९२ हजार ऋणी, २०७७ असारमा २७ लाख ८३ हजार ऋण खाता, २०७५ असारमा लघुवित्त संस्थाहरूमा १८ लाख ५४ हजार ऋणी थिए ।
यस्तै, २०७४ असारमा १५ लाख ७६ हजार ऋणी, २०७३ असारमा १२ लाख ९६ हजार ऋणी, २०७२ असारमा १० लाख ८२ हजार, २०७१ असारमा ११ लाख ३ हजार र २०७० असारमा ८ लाख ४९ हजार ऋणीले लघुवित्त संस्थाबाट कर्जा लिएको तथ्याङ्कमा छ ।
फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नुमानाथ पौडेल लघुवित्त संस्थाहरूको पहुँच बढेको तर व्यवसाय सीमित भएकाले ऋणीको संख्या घटेको बताउँछन् । साथै आर्थिक क्षेत्रमा देखिएको शिथिलताका कारण पनि त्यसको असर लघुवित्त क्षेत्रमा पनि परेको उनको भनाइ छ ।
‘लघुवित्तको विस्तार बढेसँगै त्यसको पनि सीमितता हुन्छ, राष्ट्र बैंकले सबै स्थानीय तहमा पहुँच पुर्याउन भनेपछि लघुवित्त संस्थाहरूले सबै ठाउँमा आफ्नो पहुँच पुर्याए । तर, पछिल्लो समय शाखा विस्तार गर्न छाडेका छन्,’ सीईओ पौडेलले भने, ‘कोरोनापछि भाका नाघेको ऋणीको संख्या ३६ प्रतिशतसम्म पुग्यो, यस्तो दूरावस्था देखेपछि धेरै कर्जा दिनु हुँदैन, कुनै पनि समयमा क्रास हुन सक्छ, विषम परिस्थिति आयो भने ऋण तिर्न सक्दैन भन्ने अवधारण बनाएपछि ऋणीको संख्यामा कमी आएको हो ।’
विगतमा १५ लाख रुपैयाँसम्म कर्जा र जतिवटा लघुवित्त संस्थाबाट पनि ऋण लिन पाइने व्यवस्था थियो । तर, यस्तो हुँदा समस्या आएपछि राष्ट्र बैंकले नीति नै परिवर्तन गरेपछि ऋणीको संख्या घट्न पुगेको उनकाे भनाइ छ ।
‘विगतमा एउटै व्यक्तिलाई ४/५ वटा लघुवित्तले ऋण दिन्थे । तर, राष्ट्र बैंकले एउटा ऋणीले एक संस्थाबाट मात्रै कर्जा लिन पाइने व्यवस्था गर्यो । कर्जाको सीमा १५ लाख रुपैयाँबाट ७ लाख रुपैयाँमा झार्यो । जसकारण ऋणीको संख्या घट्न पुगेको हो,’ सीईओ पौडेलले भने, ‘लघुवित्त मर्जरका कारण पनि ऋणीको संख्यामा कमी आएको हो, छुट्टाछट्टै संस्था हुँदा दोहोरो गणना भएको थियो । मर्जरपछि दोहारो गणना हट्यो ।’
१५ लाख रुपैयाँ कर्जा आवश्यक भएको व्यक्तिले लघुवित्तबाट ऋण लिन नपाउने भएपछि सो व्यक्ति बैंकिङ क्षेत्रतर्फ पलायन भए । साथै, कर्जा सूचना केन्द्रले पनि प्रभावकारी रूपमा कार्यान्वयन गरेका कारण कर्जाका ग्राहक घटेका हुन् । कर्जातर्फका ग्राहक घट्नुमा लघुवित्त विरुद्धको आन्दोलनले ५ प्रतिशतमात्रै असर गरेको उनको भनाइ छ ।
नेशनल लघुवित्तका सीईओ रामबहादुर यादव नियामकीय व्यवस्थाका कारण कर्जातर्फका ग्राहक घटेको बताउँछन् । एक संस्था एक ग्राहक नीति ल्याएपछि संख्यामा गिरावट आएको र लघुवित्तमा शद्धिकरण भइरहेको उनको भनाइ छ ।
‘एउटा संस्थाले एउटा ग्राहकलाई मात्रै कर्जा दिने व्यवस्था गर्यो, यो वर्षदेखि २ वटा संस्थाबाट ऋण लिन सकिने व्यवस्था भयो, यसले लघुवित्त संस्थाहरू स्वस्थ प्रतिस्पर्धा, शद्धिकरणतर्फ जाँदैछ भन्ने बुझिन्छ,’ सीईओ यादवले भने, ‘विगतमा एउटै ऋणीले धेरै संस्थाबाट कर्जा लिँदा गलत अभ्यास मौलायो, अब एउटा व्यक्तिले एउटा संस्थाबाट मात्रै ऋण लिँदा समयमा कर्जा चुक्ता गर्न सक्छ ।’
संख्या घट्नु संस्थाको लागि राम्रो नभएपनि इण्डष्ट्रीका लागि भने गजब भएको उनको धारणा छ । उनका अनुसार मल्टीफाइनान्स कम हुनु भनेको लघुवित्त संस्था उत्कृष्टततर्फ अगाडि बढिरहेका भन्ने हो । र यो संख्या अझै घटाउनुपर्छ । लघुवित्त विरुद्धको आन्दोलनले ग्राहक संख्यामा कुनै असर नगरेको भएपनि सजग भने भएको उनले बताए ।
‘सडकमा देखिएका मान्छेहरू एउटै व्यक्तिले ५/१० वटा संस्थाबाट कर्जा लिएर नतिर्ने नियतका हुन्, कर्जा नतिर्नका लागि सडक आन्दोलनमा उत्रिएका हुन्, ऋण लिएर मिटरब्याज र अनुत्पादक क्षेत्रमा लगानी गर्दा समस्या आयो, त्यो पैसा फिर्ता गर्न नपरोस् भनेर आन्दोलन गर्नुभयो,’ सीईओ यादवले भने, ‘अब लघुवित्त सबै सजग भएका छन्, कर्जा जथाभावी लगानी गर्दैनन्, जो पायो त्यही मान्छेलाई ऋण दिँदैनौं, कर्जा सूचना केन्द्रले पनि प्रभावकारी काम गरिरहेको छ ।’
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक विमलराज खनाल लघुवित्त क्षेत्रको दिगोपनाका लागि दोहोरो ऋणीको संख्या घटाउनु परेको बताउँछन् । नाफा र व्यवसायभन्दा पनि लामो समयसम्म टिक्न राष्ट्र बैंकले काम गर्ने उनले बताए ।
‘राष्ट्र बैंकले लघुवित्तलाई बहु-बैंकिङ गर्न दिएको छैन, एउटा ऋणीले दुईवटा संस्थाभन्दा बढी संस्थाबाट कर्जा लिन पाउँदैनन्, बहु-बैंकिङ गर्न नपाएपछि निक्षेपको रकम फिर्तासँगै ऋणी सदस्यले सदस्य नै हुन पाउँदैन, सदस्य हुन नपाएपछि कर्जा लिन पनि पाउँदैन,’ उनले भने, ‘ऋणको सीमा ७ लाख रुपैयाँ अझै एक/दुई वर्षसम्म रहन सक्छ, अहिले नाफा र व्यवसायभन्दा पनि दीर्घकालसम्म सञ्चालन गर्नुपर्छ ।’
लघुवित्त वित्तीय संस्थाविरुद्धको आन्दोलन ब्याज र साँवा मिनाहा हुनुपर्ने भएकाले त्यसको प्रभाव नपरेको उनको बुझाइ छ ।
निक्षेप सदस्य पनि घट्दै
लघुवित्त संस्थाहरूमा ऋणीसँगै निक्षेप सदस्यको संख्या पनि घट्दै गएको देखिन्छ । आर्थिक वर्ष २०७९/८० मा लघुवित्त संस्थाहरूका ६० लाख १६ हजार निक्षेप खाता थिए । गत वर्ष घटेर ५९ लाख ९५ हजारमा झरेको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष २१ हजार निक्षेप खाता घटेका हुन् ।
तथ्याङ्कअनुसार २०७९ असारमा लघुवित्त संस्थाहरूमा ५८ लाख ५९ हजार, २०७८ असारमा ५१ लाख ९१ हजार, २०७७ असारमा ४६ लाख ८७ हजार, २०७६ असारमा ४३ लाख २८ हजार, २०७५ असारमा २८ लाख ५७ हजार निक्षेप सदस्य रहेका छन् ।
यस्तै, २०७४ असारमा २३ लाख ६९ हजार, २०७३ असारमा १८ लाख ७४ हजार, २०७२ असारमा १५ लाख ४९ हजार, २०७१ असारमा ११ लाख ६४ हजार, २०७० असारमा ११ लाख ६४ हजार निक्षेप खाता रहेका थिए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.