२०८१ मंसिर ११ गते ११:४९ विकासन्युज
काठमाडौं । नेपालको डिजिटल वालेट ‘खल्ती’ले क्रिकेट एसोसिएसन नेपाल (क्यान) सँग सहकार्य गर्दै नेपाली क्रिकेट जगतको महाउत्सव, द फेस्टिभल अफ हिमालयज ‘नेपाल प्रिमियर लिग (एनपीएल)’ को पहिलो संस्करणमा आधिकारिक टिकटिङ पार्टनरको रूपमा साझेदारी गरेको छ ।
यो लिगले देशभित्र र अन्तर्राष्ट्रिय स्तरका उत्कृष्ट खेलाडीहरूलाई एकत्रित गर्दै नेपाली क्रिकेट उत्थानको लागि एक महत्त्वपूर्ण भूमिका खेल्नेछ ।
क्रिकेटप्रेमीहरूले खल्ती एपमार्फत सजिलैसँग टिकट काट्न सक्ने छन् ।
पहिलो दिन प्लेअफ र त्यसपछिका खेल हुने दिनबाहेक प्रतिदिन साधारण टिकटको मूल्य ३०० रुपैयाँका साथै भिआइपी टिकटको मूल्य ५०० रुपैयाँ तोकिएको छ । प्लेअफ र त्यसपछिका खेलका लागि भने टिकट चाँडै उपलब्ध हुने खल्तीले जनाएको छ ।
फ्यानहरूले सबै खेलको एकमुष्ठ सिजन पास पनि लिन सक्नेछन्ः साधारणको मूल्य ४ हजार ४८० रुपैयाँ र भिआइपी टिकटको मूल्य ८ हजार २४० रुपैयाँ रहेको छ ।
मंसिर १५ बाट कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सुरु हुन गइरहेको एनपीएलमा विराटनगर किङ्ग्स, जनकपुर बोल्ट्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स गरी ८ वटा टोली सहभागी हुनेछन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.