मौद्रिक नीतिको त्रैमासिक समीक्षा शुक्रबारसम्म सार्वजनिक हुने, के हुँदैछ परिवर्तन ?

  २०८१ मंसिर ११ गते १६:१६     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले यही साताभित्र चालु आर्थिक वर्ष २०८१/८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्ने अन्तिम तयारी गरेकाे छ । राष्ट्र बैंक स्रोतका अनुसार यही साताको शुक्रबारसम्म मौद्रिक नीतिको त्रैमासिक समीक्षा सार्वजनिक गर्ने तयारी छ ।

‘राष्ट्र बैंक मौद्रिक नीति सार्वजनिक गर्ने तयारी भइरहेको छ । मौद्रिक नीतिको मस्यौदा अन्तिम चरणमा छ । शुक्रबारसम्म सार्वजनिक गर्छाैं, शुक्रबारसम्म सार्वजनिक गरिसक्नुपर्ने व्यवस्था छ,’ स्रोतले भन्यो ।

हाल अर्थतन्त्र सहज अवस्थातर्फ उन्मुख छ । बैंक तथा वित्तीय संस्थाहरूको कर्जाको ब्याजदर औसत ९ प्रतिशत बिन्दुमा झरिसकेको छ भने निक्षेपको ब्याजदर औसत ५ प्रतिशत बिन्दुको हाराहारीमा छ । बैंकिङ क्षेत्रमा ब्याजदर न्यून बिन्दुमा हुँदा पनि कर्जाको माग नरहेको बैंकरहरू बताउँछन् ।

राष्ट्र बैंकले पनि कर्जा विस्तार गर्ने गरी विगतका मौद्रिक नीतिमार्फत सहजीकरण गरिसकेको छ । तर पनि कर्जाको माग उल्लेख्य रूपमा नबढ्दा राष्ट्र बैंकले यसपटक पनि कर्जा विस्तारसँग सम्बन्धित व्यवस्था चलाउने देखिन्छ । जसका लागि राष्ट्र बैंकले क्षेत्रगत रूपमा जाने कर्जामा केही व्यवस्थामा हेरफेर गर्न सक्ने सम्भावना देखिन्छ ।

सेयर लगानीकर्ताहरूले सेयर कर्जाको व्यक्तिगततर्फको १५ करोडको सीमा खारेज गर्नुपर्ने माग राखेका छन् । साथै, संस्थागत लगानीकर्ताहरू (बैंक तथा वित्तीय संस्था)लाई दोस्रो बजारमा सेयर कारोबारमा खुला गर्नुपर्ने माग उनीहरूले राखेका छन् । पछिल्लो समय कर्जाको माग पनि नआएकाले बैंकरहरू पनि सेयर धितो कर्जामा जाने कर्जामा राष्ट्र बैंक अझै लचिलो बन्नु पर्ने गरी लबिङ गरिरहेका छन् ।

महँगो ब्याजदरमा निक्षेप संकलन गरेर सस्तोमा राष्ट्र बैंकमा थुपार्नु परेको छ । त्यसैले राष्ट्र बैंकसामु नीतिगत व्यवस्थामार्फत् कर्जाको माग बढाउनु पर्ने चुनौती छ । यो समस्याको समाधानका लागि उद्योगी व्यवसायीले परियोजना धितोको माग राखिरहेका छन् ।

यस्तै, निर्माण व्यवसायीहरूलाई प्रवाह भएको कर्जाको साँवा ब्याज तिर्ने अवधि मंसिर मसान्तसम्म छ । उक्त व्यवस्थालाई थप गर्नुपर्ने माग व्यवसायीहरूले गरिरहेका छन् ।

राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभाग प्रमुख तथा कार्यकारी निर्देशक डा. गुणाकर भट्ट मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षमा धेरै परिवर्तन गर्नुपर्ने अवस्था नरहेको बताउँछन् । ब्याजदर न्यून बिन्दुमा झरेको र पर्याप्त तरलता रहेकाले राष्ट्र बैंकले धेरै चलाउनुपर्ने विषय नरहेको उनको भनाइ छ ।

‘मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा नयाँ विषय केही छैन । किनभने ब्याजदर न्यून बिन्दुमा झरेको छ । तरलता फालाफाल छ, यसैले राष्ट्र बैंकले चलाउनुपर्ने धेरै विषय केही छैन,’ उनले भने, ‘मौद्रिक नीतिले ब्याजदर र तरलता हेरेर समीक्षा गर्छ, अहिले दुईटै विषय बजारलाई फेरबदल छ ।’

ब्याजदर न्यून भएपनि कर्जा लगानी हुन सकेको छैन । सेयर बजारमा जाने कर्जामा हेरफेर गर्ने विषयमा अहिलेसम्म छलफल नभएको उनले बताए । हाल जुन व्यवस्था छ सोही अवस्थामा कायम रहने सम्भावना रहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.