१८ औं हात्ती तथा पर्यटन महोत्सव पुस ११ देखि सुरु

  २०८१ मंसिर ११ गते १७:३२     विकासन्युज

काठमाडौं । पर्यटकीय गन्तव्य सौराहामा आगामी पौष ११ गतेदेखि १५ गतेसम्म १८ औं हात्ती तथा पर्यटन महोत्सव–२०८१ हुने भएको छ ।

१८ औं हात्ती तथा पर्यटन महोत्सव–२०८१ क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजनामा हुन लागेको हो ।

संघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै तीन वर्षसम्म रोकिएको महोत्सव गत वर्षदेखि निरन्तरता दिएको जानकारी दियो ।

पत्रकार सम्मेलनमा बोल्दै क्षेत्रीय होटल संघ नेपाल चितवनका अध्यक्ष गंगा गिरीले १८ औं हात्ती तथा पर्यटन महोत्सव-२०८१ आगामी पौष ११ गतेदेखि १५ गतेसम्म गर्न लागिएको बताए ।

उनले महोत्सवमा हात्ती वनभोज, हात्ती फुटबल, हात्ती पोलो, हात्ती सुन्दरी प्रतियोगितालगायत झाँक्री प्रदर्शनी गरिने बताए ।

उनले महोत्सवमा मैत्रीपूर्ण खेलकुद प्रतियोगितासँगै चितवनको पर्यटनको सम्भावना र चुनौतीसम्बन्धी अन्तरक्रिया कार्यक्रमसमेत हुने अध्यक्ष गिरीले बताए ।

महोत्सवमा हात्तीको दिनचर्याबारे जानकारी, स्वदेशी तथा विदेशी ट्राभल एजेन्सीसँग बी–टु–बी कार्यक्रम, स्थानीय भेषभूषा तथा कला संस्कृतिको संरक्षण, स्थानीय कृषि उत्पादनको प्रवर्द्धनात्मक कार्यक्रम गरिने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.