२०८१ मंसिर १२ गते १२:१७ विकासन्युज
काठमाडाैं । सरकारले ५० करोड रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र बिक्री गर्ने भएको हो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले मंसिर १३ गतेदेखि पुस १४ गतेसम्म ५ वर्ष अवधिको वैदेशिकर रोजगार बचतपत्र बिक्री गर्न लागेको हो ।
बिक्री सम्पन्न भएपछि पुस १६ गते बचतपत्र निष्कासन हुनेछ ।
विदेशमा रोजगारीमा रहेका नेपाली नागरिक र विदेशमा बसोबास गर्ने गैरआवासीय नेपालीले खरिद गर्न पाउने सरकारी ऋणपत्र नै वैदेशिक रोजगार बचतपत्र हो । यो बचतपत्र वैदेशिक रोजगारीमा रहेका वा स्वदेश फर्किएको ६ महिना नपुगेका नेपाली नागरीक र गैरआवसीय नेपाली तथा उसको परिवार सदस्य (बुबा, आमा, श्रीमती, श्रीमान, छोरा र छोरी) ले मात्र खरिद गर्न पाउने कार्यलयले जनाएको छ ।
यस बचतपत्र वार्षिक ८.५ प्रतिशत ब्याज प्राप्त हुनेछ । अर्थात कुनै पनि बैंकमा रकम मुद्दती निक्षेपको भन्दा धेरै ब्याज यस बचतपत्रमा पाइने देखिन्छ । हाल बैंकको औषत निक्षेप व्याजदर ६ प्रतिशत मात्र रहेको छ ।
ब्याज ६/६ महिनामा भुक्तानी हुनेछ । साँवा २०८६ पाैष १६ गते एकमुष्ठ रूपमा पाइने छ । यो बचतपत्र कम्तीमा १० हजार रुपैयाँको आवेदन दिनु पर्नेछ । बढीमा कुल निष्कासित रकमको सीमा नबढाई १० हजार रुपैयाँले निःशेष भाग जाने अंकमा आवेदन दिनु पर्नेछ ।
यो बचतपत्र धितो राखी कर्जा लिन पनि सकिने छ । यसका साथै कार्यालयले प्रयोगमा ल्याएको डीओएमएस र इन्भेस्टर पोर्टलबाट दोस्रो बजारमा बेच्न पनि सकिने छ । अर्थात आफूले चाहेको बेला बचतपत्र बिक्री गरेर साँवाब्याज रकम प्राप्त गर्न सकिने छ ।
यो बचतपत्र खरिद गर्नका लागि कार्यालयको वेबसाइटमा गएर इन्भेष्टमेन्ट पोर्टलबाट आवेदन दिन सकिने छ । आवेदनका साथ कार्यरत मुलुकको प्रवेशाज्ञा (प्रवेशाज्ञा आवश्यक पर्ने मुलुकको लागि), खरिद गर्न चाहेको रकम बराबरको विदेशी मुद्रा नेपालमा भित्रिएको प्रमाण र आवेदन बराबरको रकम आफ्नो बैंक खाताबाट खर्च गर्न स्वीकृति दिएको अख्तियारी पत्र अनिवार्य रूपमा अपलोड गर्नु गर्नुपर्ने छ। प्रत्येक कागजात ५ एमबीभन्दा कमको हुनु पर्नेछ ।
बैंक तथा वित्तीय संस्थाले आवेदकको खाता रुजु गरी आवेदन गरिएको रकम बराबर निष्कासन मितिसम्म रोक्का राख्नु पर्नेछ र निष्कासन मितिमा नेपाल सरकारलाई रकम बुझाउनु पर्ने भएकाले खण्डित अवधिको ब्याज रकम भुक्तानी कार्यलयले जनाएको छ ।
सरकारले आन्तरिक ऋण उठाउने एक माध्यमको रूपमा बचतपत्र उपकरणको प्रयोग गर्ने गर्दछ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.