२०८१ मंसिर १२ गते १२:०१ विकासन्युज
काठमाडौं । बैंकका कर्मचारीहरूको तलब तीन महिनामा झण्डै १ अर्ब बढेको छ । गत वर्षको तु्लनामा चालु आर्थिक वर्ष २०८१/८२ को असोजमा बैंकका कर्मचारीहरूको तलब ७.३१ प्रतिशत अर्थात् ९८ करोड ६१ लाख रुपैयाँ बढेको देखिन्छ ।
२० वटा वाणिज्य बैंकले चालु आर्थिक वर्षको असोजसम्ममा कर्मचारीहरूलाई १४ अर्ब ४७ करोड ७२ लाख रुपैयाँ तलब भुक्तानी गरेका छन् । जबकि गत वर्षको सोही अवधिमा १३ अर्ब ३४ करोड ८५ लाख रुपैयाँमात्रै कर्मचारीलाई तलबका रूपमा भुक्तानी गरेका थिए ।
यस अवधिमा अधिकांश बैंकले कर्मचारीको तलब खर्च बढाएको देखिन्छ । यसपटक १६ वटा बैंकको कर्मचारी खर्च बढेको छ भने ४ वटा बैंकको कर्मचारी खर्च भने घटेको देखिन्छ । तीन महिनामा नबिल बैंक र राष्ट्रिय वाणिज्य बैंकको कर्मचारी खर्च भने १ अर्बभन्दा बढी रहेको देखिन्छ ।
समीक्षा अवधिमा एनआईसी एशिया बैंकको कर्मचारी खर्च ३६.९६ प्रतिशत अर्थात् २४ करोड ३९ लाख रुपैयाँ बढेको छ । गत वर्ष ६६ करोड रुपैयाँमात्रै कर्मचारीलाई तलब दिएको यस बैंकले यस वर्ष भने ९० करोड ३ लाख रुपैयाँ भुक्तानी गरेको छ ।
यस्तै, लक्ष्मी सनराइज बैंकको २६.६९ प्रतिशत बढेर ९४ करोड ९८ लाख रुपैयाँ, प्राइम बैंकको २१.७८ प्रतिशत बढेर ४५ करोड ६७ करोड रुपैयाँ, हिमालयन बैंकको २१.१५ प्रतिशत बढेर ७५ करोड रुपैयाँ, कुमारी बैंकको १८.९१ प्रतिशत बढेर ९६ करोड ६७ लाख रुपैयाँ कर्मचारीलाई भुक्तानी गरेका छन् ।
सिद्धार्थ बैंकको १४.९४ प्रतिशत बढेर ६८ करोड ५ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको १४.३३ प्रतिशत बढेर १ अर्ब १० करोड रुपैयाँ, प्रभु बैंकको १४.२१ प्रतिशत बढेर ९३ करोड २४ लाख रुपैयाँ, सानिमा बैंकको १४ प्रतिशत बढेर ४० करोड २७ लाख रुपैयाँ कर्मचारी खर्च गरेका छन् ।
एभरेष्ट बैंकको १२.९६ प्रतिशत बढेर ४९ करोड ५० लाख रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ६.४४ प्रतिशत बढेर २८ करोड ३६ लाख रुपैयाँ, एनएमबी बैंकको ६.४० प्रतिशत बढेर ५६ करोड २८ लाख रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ६.२४ प्रतिशत बढेर ७६ करोड ३९ लाख रुपैयाँ तलब भुक्तानी गरेको तथ्याङ्क छ ।
यस्तै, सिटिजन्स बैंकको २.७९ प्रतिशत बढेर ४० करोड ८८ लाख रुपैयाँ, नेपाल बैंकको २.४१ प्रतिशत बढेर ९१ करोड १९ लाख रुपैयाँ, कृषि विकास बैंकको १.९२ प्रतिशत बढेर ८९ करोड २२ लाख रुपैयाँ कर्मचारीलाई तलब वितरण गरेका छन् ।
तर, समीक्षा अवधिमा विभिन्न ग्लोबल आइएमई बैंक, माछापुच्छ्रे बैंक, नेपाल एसबीआई बैंक र नबिल बैंकले कर्मचारी खर्च घटाएको देखिन्छ । किनभने यस अवधिमा यी बैंकको कर्मचारीलाई भुक्तानी गरेको तलब रकम घटेको छ ।
ग्लोबल आइएमई बैंकको २३.९२ प्रतिशत घटेर ९३ करोड ३६ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकको ८.३१ प्रतिशत घटेर ६० करोड १४ लाख रुपैयाँ, नेपाल एसबीआई बैंकको ७.०३ प्रतिशत घटेर ३६ करोड ३ लाख रुपैयाँ र नबिल बैंकको ३.७३ प्रतिशत घटेर १ अर्ब ११ करोड रुपैयाँ तलब भुक्तानी गरेका छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.